एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार नेयमारले आफू र क्लबका गोलरक्षक बीच दोषारोपण नभएको स्पष्ट पारेका छन्। विभिन्न संचार माध्यममा नेयमार र जियानुलइजी डोन्नररुम्मा बीच भनाभन भएको खबर आएपछि नेयमारले त्यस्तो केहि घटना नभएको बताएका हुन्।
बिहिबार विभिन्न स्पेनिस तथा फ्रेन्च मिडियाहरुले नेयमार र डोन्नररुम्मा बीच भनाभन भएको खबर प्रकाशित गरेका थिए। पहिलो लेगमा जित निकाले पनि दोस्रो लेगमा रियल म्याड्रिडसँग पराजय भोगेपछि पिएसजीको ड्रेसिङ रुमनै नेयमार र डोन्नररुम्मा भनाभन भएको मिडियाहरुको दावी थियो।
तर नेयमारले सामाजिक संजाल मार्फत ती सबै खबरहरुलाई खारेज गरेका छन्। सामाजिक संजाल मार्फत उनले ड्रेसिङ रुममा कुनै पनि झगडा नभएको बताएका छन्।
नेयमारले लेखेका छन्,”म यहाँ आएर यस्ता समाचार बारे कुरा गर्नुपर्दा धेरै दुखि छु। यी सबै खबर झुटा हुन्। ड्रेसिङ रुमभित्र कुनै पनि झगडा भएको थिएन।”
त्यस्तै अर्को पोस्टमा नेयमारले डोन्नररुम्मालाई शान्त रहन भनेका छन्। उनले भनेका छन्,”फुटबलमा यस्ता कुरा हुन सक्छन्। शान्त बस। तिमी जवान छौ। धेरै ट्रफीहरू जित्न बाँकी छ। सँगै अगाडी बढौं।”
*(फ्रेन्च तथा स्पेनिस मिडियामा आएका समाचारका आधारमा बिगूल न्युजमा पनि सो बारे खबर आएको थियो। सो खबर क्षमाप्रार्थी सहित सम्पादन गरिएको छ)

