रियल म्याड्रिडको भइसके एम्बाप्पे, अब पिएसजीले रोकेर रोकिनेछैनन् !

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिडले एक अर्कालाई पछार्न सक्दो प्रयास गरे। पहिलो लेगमा हार बेहोरेपनि रियलले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्यो।

दुई लेगमा भएको खेलमा कुल ५ गोल भए। त्यसमध्ये तीन गोल रियलबाट भएको थियो भने दुई गोल पिएसजीको तर्फबाट। समग्रमा ३-२ को जित निकाल्दै रियल च्याम्पियन्स लिगको अर्को चरणमा पुग्यो।

रियल म्याड्रिड जाने सपना बोकेर अगाडी बढिरहेका किलियन एम्बाप्पेका लागि रियल म्याड्रिड विरुद्धको खेल धेरै विशेष रह्यो। रियल म्याड्रिडको विरुद्धमा उत्रिएपनि एम्बाप्पेले सान्टियागो बर्नाबाउमा राम्रो स्वागत पाएका थिए।

रियलका समर्थकले एम्बाप्पेलाई न्यानो स्वागत गरेका थिए। उनलाई रियलका खेलाडीहरुले पनि स्नेह देखाएका थिए। समग्रमा स्पेनको राजधानीमा उनलाई राम्रै व्यवहार गरियो। एम्बाप्पेले सान्टियागो बर्नाबाउको वातावरण राम्रोसँग अनुभव गरिसकेका छन्। रियलको घरेलु मैदानमा पाएको न्यानो स्वागतले पक्कै पनि लोभ्याएको होला।

एम्बाप्पेको सपना

एम्बाप्पे रियल म्याड्रिडलाई लामो समय देखि पछ्याइरहेका छन्। एम्बाप्पे रियलका समर्थक पनि हुन्। एम्बाप्पे आफैंले विभिन्न सार्वजनिक अवसरहरुमा रियल म्याड्रिडबाट खेल्ने सपना रहेको बताइसकेका छन्। गत वर्ष एम्बाप्पेले रियल जान सक्दो प्रयास गरेका थिए।

त्यस्तै रियल म्याड्रिड पनि एम्बाप्पेलाई भित्र्याउन चाहन्छ। रियलले दुई वर्ष भन्दा बढी समय देखि एम्बाप्पेलाई भित्र्याउन चाहिरहेको छ। दुवैको योजना एकै हुँदा पनि यसमा पिएसजी बाधक बनिरहेको छ। पिएसजीले बारम्बार एम्बाप्पेलाई नयाँ-नयाँ प्रस्ताव गरिरहेको छ। तर पिएसजीको तर्फबाट भएका सम्पूर्ण प्रस्तावलाई उनले अस्विकार गरेका छन्।

एम्बाप्पेको सहि निर्णय

पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएसँगै सम्झौता थप नगर्ने एम्बाप्पेको निर्णय एक हिसाबले सहित सावित भएको छ। धेरै भन्दा धेरै खर्च गरेर पनि च्याम्पियन्स लिग जित्न नसकेको पिएसजीमा रहेर केहि गर्न नसकिनेमा उनले स्पष्ट भइसकेका छन्। बालोन डी’ओर जित्न र च्याम्पियन्स लिग जित्न रियल नै जाने मन उनले बनाइसकेको अनुमान पनि लगाउन सकिन्छ। यस्तै म्याड्रिडमा बिताएको दुई दिनले पनि सहि निर्णय गर्न एम्बाप्पेलाई धेरै मद्दत गर्ने फुटबल विश्लेषकहरु बताउँछन्।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१७:११

डियाज छिट्टै लिभरपुलमा सेटल भएको देखेर छक्क परे यी खेलाडी, तर नचिनेकोमा भने पछुतो !