एजेन्सी – इजिप्टियन स्टार मोहम्मद सल्लाहले प्रिमियर लिग क्लब लिभरपुल छाड्ने सम्भावना बढेको छ। सलाहले माग गरेजति पारिश्रमिक दिन लिभरपुल तयार नभएसँगै सलाहले क्लब छाड्ने सम्भावना बढेको हो।
विभिन्न संचार माध्यममा आएका खबर अनुसार सलाहले लिभरपुलसँग उच्च पारिश्रमिक माग गरिरहेका छन्। सलाहले क्रिस्टियानो रोनाल्डो र केभिन डी ब्रुइनले पाइरहेको जति पारिश्रमिक माग गरेको ट्रान्सफर मार्केट जानकार फाब्रिजियो रोमानो बताउँछन्। तर लिभरपुल सो पारिश्रमिक दिन तयार छैनन्। रोनाल्डो र डी ब्रुइन प्रिमियर लिगकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुन्।
पारिश्रमिकको विषयमा सलाह पक्ष र लिभरपुल बीच पटक-पटक भएको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न नसकेको रोमानोको भनाई छ। लिभरपुल तर्फबाट भएको प्रस्ताव सलाहले अस्विकार गरेपनि उनी तत्कालै क्लब छाड्ने पक्षमा नरहेको रोमानोले बताए।
सलाह लिभरपुल छाड्ने पक्षमा नरहेको बताइएपनि कुरा नमिलेको खण्डमा उनी अर्को क्लबको खोजिमा पक्कै पनि लाग्नेछन्। मोहम्मद सलाह गएको पाँच सिजन देखि लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। लिभरपुलले च्याम्पियन्स लिग र प्रिमियर लिग जित्दा सलाहले प्रमुख भूमिका खेलेका थिए।
निरन्तर राम्रो प्रदर्शन गरिरहेका सलाहलाई पक्कै पनि युरोपका ठूला क्लबहरुले भित्र्याउन चाहनेछन्। सलाहलाई भित्र्याउन बार्सिलोना, पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिड अगाडी आउने ट्रान्सफर मार्केटका जानकारहरु बताउँछन्।

