एजेन्सी – अन्ततः फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको सम्झौतामा रहेको अन्योलतामा पूर्णविराम लाग्ने भएको छ। एम्बाप्पेले आउने केहि साता भित्रै आफ्नो भविष्य बारे ठोस निर्णय लिने भएसँगै सो अन्योलताको अन्त्य हुने भएको हो।
एम्बाप्पे र रियल बीच आउने एक हप्ता भित्रै सम्झौता हुन सक्ने स्पेनिस मिडियाहरु बताउँछन्। स्पेनिस मिडिया मार्काका अनुसार एम्बाप्पे र रियल बीच एक-दुई साता भित्रै अग्रिम सझौता हुनेछ।
पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगबाट बाहिरिएसँगै एम्बाप्पेका लागि क्लब छाड्न बाटो खुलेको छ। पिएसजी प्रतियोगिताबाट बाहिरिएसँगै रियल म्याड्रिड र एम्बाप्पे पक्ष बीच विभिन्न चरणमा वार्ता भएको बताइन्छ।
दुई पक्ष बीच भएको वार्ता सकारात्मक ढंगले अगाडी बढेको र छिट्टै निष्कर्ष निस्किने स्पेनिस मिडियाहरु दावी गर्छन्। सबै राम्रै गएको खण्डमा एम्बाप्पे र रियल बीच एक साता भित्रै सम्झौता हुन सक्नेछ। स्मरण रहोस् सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका एम्बाप्पे जनवरी देखि नै अन्य क्लबसँग अग्रिम सम्झौता गर्नको लागि खुला भैसकेका छन्।
रियलसँग अग्रिम सम्झौता गरेवापत उनले ६० देखि ८० मिलियन युरो सम्म ट्रान्सफर फि पाउने छन् भने उनले पारिश्रमिक रुपमा रुपमा कर कटाएर २५ मिलियन युरो पाउनेछन्।

