एजेन्सी – लिभरपुलका पूर्व डिफेन्डर जेमी कर्राघेरले पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेलाई पहिला प्रिमियर लिग जान सुझाव दिएका छन्। पिएसजीमा अन्तिम समय बिताइरहेका एम्बाप्पेलाई कर्राघेरले स्पेन जानु भन्दा पहिला प्रिमियर लिग जान सुझाव दिएका हुन्।
एक टेलिभिजन कार्यक्रममा क्रममा कर्राघेरले एम्बाप्पेले केहि सिजन प्रिमियर लिगमा बिताउनु पर्ने र पछि लालिगा जानु पर्ने बताए। २३ वर्षिय एम्बाप्पेले उमेरलाई ध्यानमा राखेर प्रिमियर लिग जानु पर्ने कर्राघेरको भनाई छ। उनका अनुसार एम्बाप्पे स्पेन २५-२६ वर्ष भएपछि पनि जान सक्छन्।
एम्बाप्पेका लागि म्यानचेस्टर सिटी र लिभरपुल दुई क्लब ठीक हुने कर्राघेरले बताए। हालको अवस्थामा सिटी र लिभरपुल युरोपकै उत्कृष्ट टोली रहेको कर्राघेरको भनाई छ।
“मैले सधैं महसुस गरेको छु एमबाप्पे धेरै राम्रो छन् र उनी केहि न केहि तरिकाले आफ्नो करियरलाई अगाडी बढाउन सक्छन्। रियल म्याड्रिड र बार्सिलोनाले उनलाई २५-२६ वर्षमा पनि भित्र्याउने छन्। तर अहिले भने उनले म्यानचेस्टर सिटी वा लिभरपुल जानु पर्छ। तीन वा चार वर्ष देखि प्रिमियर लिगमा मात्र नभई युरोपमा पनि यी दुई टोली धेरै राम्रो गरिरहेका छन्।”,कर्राघेरले भने।
कर्राघेरले प्रिमियर लिग युरोपकै उत्कृष्ट लिग रहेको समेत बताए। अहिलेको रियल म्याड्रिडको टोलीले च्याम्पियन्स लिग जित्ने सम्भावना आफूले नदेखेको कर्राघेरको भनाई छ।
उनले भने,”फ्रेन्च लिगमा धेरै राम्रो गरिसकेका एम्बाप्पेले प्रिमियर लिग जानु पर्छ। प्रिमियर लिग युरोपको उत्कृष्ट क्लब पनि हो। केहि वर्ष प्रिमियर लिगमा रहेपछि मात्र स्पेन बारे सोच्दा हुन्छ। त्यस्तै अहिलेको रियल म्याड्रिड टोलीले यो सिजन च्याम्पियन्स लिग जित्ने सम्भावना पछि छैन।”

