एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युवा स्टार एर्लिङ हालाण्डलाई भित्र्याउनेमा ढुक्क देखिएको बेलायती संचार माध्यमहरुले जनाएका छन्। हालाण्ड भित्र्याउन सिटीले गरेको प्रयास सकारात्मक दिशामा अगाडी बढेको र हालाण्ड सिटी आउनेमा सिटी ढुक्क देखिएको बेलायती मिडिया डेली मेलले जनाएको हो।
हालाण्ड र सिटी बीच एक प्रकारको सहमति भइसकेको डेली मेलको दावी रहेको छ। गएका साताहरुमा हालाण्डका एजेन्ट र सिटीका अधिकारीहरु बीच भएको छलफल सकारात्मक देखिएको बताइन्छ। हालाण्डको पक्षका सबै शर्त मान्न सिटी तयार भैसकेको छ।
बताइएअनुसार सिटी खेलाडी, बोरुसिया डर्टमण्ड र एजेन्ट सबैको शर्त मान्न तयार छ। सिटी रिलिज क्लज बराबरको ६३ मिलियन पाउण्ड डर्टमण्डलाई तिर्न तयार भएको छ। त्यस्तै सम्झौता भएको खण्डमा एजेन्ट मिनो राइओलाले पनि राम्रो कमिसन पाउनेछन्। रिलिज क्लज, साइनिङ बोनस र एजेन्ट चार्जहरु सहित गर्दा हालाण्डको ट्रान्सफर १ सय मिलियन पाउण्ड भन्दा पनि हुन आउने र त्यो सबै रकम तिर्न सिटी तयार रहेको डेली मेलको भनाई छ।
यस अगाडी स्पेनिस पत्रिका मार्काले पनि हालाण्ड लालिगा क्लब भन्दा पनि प्रिमियर लिग जाने बढी सम्भावना रहेको बताएको थियो। मार्काका अनुसार हालाण्ड भित्र्याउने दौडमा सिटी सबै भन्दा बढी अगाडी छ। त्यस्तै हालाण्डमा पेरिस सेन्ट जर्मेन(पिएसजी)को पनि चासो रहेको छ।

