नेपाली जग्गामा भारतीयको रजाइँ, सरकार मौन !

जनकपुरधाम । धनुषामा नेपालको भूमीमा भारतीयहरूले जबरजस्ती कब्जा गरेर खेतीपाती गरिरहेको खुलासा भएको छ । नेपालकै सबैभन्दा गहिरो पालिका रहेको मुखियापटी मुसहरनिया गाउँपालिकाको मुसहरनियामा नेपाली नागरिकहरूको नम्बरी जग्गामा भारतीयहरूले जबरजस्ती कब्जा गरेर खेतीपाती गरी जोतभोग गर्दै आइरहेको खुलेको हो ।

नेपाली नम्बरी करिव १५ बिघा जग्गामा भारतीयहरूले कब्जा गरेर जोतभोग गर्दै आइरहेको देखिएको छ । सीमा स्तम्भ रहे पनि नदीको आधार बनाएर नदीको पारिपट्टी रहेको नेपाली जग्गामा कब्जा गरेर भारतीयहरू जोतभोग गर्न थालेपछि नेपाल तर्फका जग्गाधनीहरू विगत लामो समयदेखि आफ्नो जग्गा फिर्ता पाउन प्रशासनसमक्ष हारगुहार गर्दै आए पनि प्रशासनले ध्यान दिन नसकेको स्थानीयहरूको गुनासो छ ।

मुखियापट्टी मुसहर्निया गाउँपालिका–२ का ६० वर्षका किसान जिवछ यादव खेतमा लगाइएको गहुँ लहलहाउँदै गरेको देख्दा आप्mनो मन र मुटु दुख्ने गरेको बताउँछन् । गहभरि आँशु बोकेका जीवछ यादवसँग तत्कालीन श्री ५ को सरकार भूमि सुधार कृषि तथा खाद्य मन्त्रालयबाट जारी भएको जग्गा धनी नेपाली लालपुर्जाको प्रमाणपत्र छ ।

जग्गाधनी लालपुर्जा देखाउँदै किसान जीवछ यादवले २० जना सदस्य भएको घरपरिवार चलाउने यो खेतकै मुख्य आम्दानीको स्रोत रहेको तर अहिले जोतभोग गर्न नपाएकोले निकै समस्या भई रहेकाले दैनिक मजदुरी गरेर घरपरिवार चलाउनुपर्ने बाध्यता भएको बताउँछन् ।

मुखियापट्टी मुसहर्निया–२ स्थित नेपाल–भारतको सीमा क्षेत्रमा दशगजासँगै टाँसिएको जमुनी नदी पारि जीवछ यादवको १ बिघा (२० कठ्ठा) जग्गा छ । हातमा लालपुर्जा छ, वार्षिक रूपमा नेपाल सरकारलाई जग्गाको करसमेत तिर्दै आएको छ, तर जोतभोग भने गर्न पाएका छैनन् ।

१५ वर्ष पहिले निर्वाध रूपमा वार्षिक धान, दाल, तरकारी, गहुँ उब्जाउँदै आएको खेतसँगै टाँसिएको जमिन नदीले आफनो वहाव क्षेत्र परिवर्तन भएको मुखियापट्टी मुसहर्निया–२ का वडाध्यक्ष नरेशप्रसाद यादवले बताए । वडाध्यक्ष यादवका अनुसार जमुनी नदीमा आएको बाढीले वहाव क्षेत्र नै परिवर्तन भएपछि जमुनी नदी वारि नेपालतर्फ भएको जीवछ यादव, भिखारी यादवलगायत १० जना जतिको करिव १५ बिघा जग्गा जमुनी नदीको पारि अर्थात भारतीय पक्षतिर गएको छ ।

नदीले वहाव क्षेत्र परिवर्तन गर्दा जमुनी नदीको पारि भारततर्फ भएको करिब २५ बिघा जग्गा जमुनी नदीको वारि नेपालतर्फ आएको देखिन्छ । नदीले वहाव क्षेत्र परिवर्तन गर्दासमेत नेपाल भारतको सीमा स्तम्भ संकेत नं. २८९ का विभिन्न पिलरहरू जमुनी नदीको पुरानै वहाव क्षेत्रअनुसार गाडिएपछि जीवछ यादव लगायतहरूले आफ्नो खेत उपभोग गर्न नदी तरेर जानुपर्ने बाध्यता छ, तर भारतीय पक्षले भने जीवछ यादव, भिखारी यादव लगायतको जग्गा कब्जा गरेर जवरजस्ती उब्जाउने गरेकाले जीवछ यादव खेतविहीन हुन पुगेको बताए ।
भिखारी यादवको जमुनी नदीको वहाव क्षेत्र परिवर्तन हुँदा पारि भारततर्फ १२ कट्टा जग्गा गएको देखिन्छ तर उनले समेत उपभोग गर्न नपाएको बताउँछन् । आपूmहरूको जग्गा आपूmहरूलाई नै जोतभोग गर्न दिनुपर्नेमा भारतीय पक्षले कब्जा गर्दा आपूmहरूलाई खाद्यान्नको समस्या हुने गरेको र भूमिहीन हुन पुगको उनको दुःखेसो छ । खेतमा नेपाल–भारतको सीमास्तम्भ पनि छ, सीमा स्तम्भको पारि भारत र वारि नेपालको भूमि हो, तर नेपाली किसानहरूले आफ्नो खेत जोतभोग गर्न नपाएर निकै समस्यामा रहेको देखिएको छ ।

नेपाली किसानहरूले आफ्नो खेतमा जाँदा भारतीय एसएसबी र त्यहाँका किसानहरूले अवरोध गर्दै आएका छन् । भारतीय किसानहरूलाई भारतीय एसएसबीहरूले सुरक्षा दिने गरेकाले गर्दा नेपाली किसानहरू जमुनी नदी कटेर आफ्नो खेत जान नपाएको स्थानीयहरूको दुःखेसो छ । खाद्य अधिकारको सवालमा नेपालमा क्रियाशील फियान नेपालका मधेस प्रदेश संयोजक नन्दनी यादवले किसानहरूको हातमा नेपाली लालपुर्जा छ, सीमा क्षेत्रमा गाडिएको सिमास्तम्भले समेत नेपाल र भारतको भूमि स्पष्ट देखिन्छ तैपनि नेपाली किसानहरूको भूमिको अधिकार र खाद्यको अधिकारलाई भारतीय पक्षले हनन् गरी रहेकाले दुवै देशका सुरक्षाकर्मी र सरोकारवाला निकायहरूको समन्वय हुन जरुरी भएको बताइन् । जमुनी नदीले आफनो वहाव क्षेत्र परिवर्तन गर्दा दुवै तर्फको जग्गा नदीको वारि र पारि भएकाले त्यसलाई समाधान गर्न दुवै तर्फबाट सरोकारवाला निकाय अग्रसर हुनुपर्नेमा संयोजक यादवले जोड दिइन् ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८०९:२४

फागुन महिनाको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?