आफूलाई डाक्टर जोहान लरेन्स बताउने व्यक्ति काभ्रेका गान्दिप गौतम निस्किएपछि …

काठमाडौँ – विदेशी नागरिक बनेर सामाजिक संजाल मार्फत ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला मण्दनदेउपुर नगरपालिका-४का ३८ वर्षीय गान्दिप गौतम रहेका छन्। पक्राउ गरिएका गौतम भक्तपुर ठिमि बस्दै आएका थिए। उनलाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गौतमले सामाजिक संजाल मार्फत आफू विदेशी नागरिक रहेको दावी गर्दै ९० लाखको चिठ्ठा परेको छ, त्यस रकम पाउन कर तिर्नुपर्छ भनेर ठग्ने गरेका थिए। गौतमले भ्रमपूर्ण विश्वासमा पारेर विभिन्न व्यक्तिहरुसँग उन्तिस लाख चालिस हजार ठगेको महाशाखाको भनाई छ।

उनले सुरुमा एसएमएस गर्ने र पछि वाट्सएपमै कल गरेर ठगी गर्दै आएका थिए। उनले आफूलाई डाक्टर जोहान लरेन्स बताउने गरेको महाशाखाले जनाएको छ। पक्राउ परेका गौतमलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१९:३०

चैत महिनाको पहिलो दिन नै घट्यो सुनको मूल्य, सुन ११ दिनकै सस्तो !