काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा पनि सहभागी हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भइरहेको जानकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
यस विषयमा सत्तारुढ गठबन्धन दलहरुबीच छलफल भइरहेको प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउन माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केही त्याग गर्नुपर्ने धारणा पनि ब्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सरकारमा हाल एकीकृत समाजवादीले सबैभन्दा बढी मन्त्रालय पाएको छ । ‘सुदूरपश्चिम प्रदेश सरकारमा अहिले कांग्रेसको सहभागिता छैन । यस विषयमा सत्तारुढ गठबन्धन दलहरुबीच बैठकमा पनि छलफल भएको छ’, कैलालीको धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने ।
प्रदेश सरकारमा मन्त्रालयको सँख्या थप गर्ने अवस्था नरहेकाले पनि सबैभन्दा बढी मन्त्रालय पाएको एकीकृत समाजवादीले त्याग गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘मन्त्रालयको सँख्या थप गर्न सकिने अवस्था छैन । त्यसैले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादी (माधव जी) ले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरेका छौं ।’
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन कांग्रेसले नै माग गरेको दाबी पनि प्रचण्डले गरेका छन् । ‘स्थानीय निकायको निर्वाचन नजिकिएपछि कांग्रेसले नै सुदूरपश्चिम प्रदेशमा पनि सहभागिता खोजेको हो । अन्य प्रदेशमा पनि गठबन्धन दलहरुको प्रतिनिधित्व छ’, प्रचण्डले भने ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि यस विषयमा आफ्नो पार्टीभित्र छलफल गर्ने आश्वासन दिएको प्रचण्डले बताए । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माग गरेको जानकारी पनि प्रचण्डले दिए ।

