काठमाडौँ – गठवन्धनमा बनेको सरकारमा केहि परिवर्तन हुने भएको छ। चार राजनीतिक दल मिलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा केहि परिवर्तन हुने भएको हो।
गठवन्धनको एक घटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरिरहेको छ। पहिला नै भएको सहमति अनुसार नेकपा एसले मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको बताइन्छ।
सरकार गठन हुँदा नै समाजवादी पार्टी भित्र सरकारमा सहभागी हुँदा पार्टीको भागमा पर्ने मन्त्री पदमा आलोपालो हुने सहमति भएको थियो। सो पूर्ववत सहमति अनुसार नै मन्त्रीहरु फिर्ता गर्न लागिएको हो।
नेकपा एस निकट एक श्रोतका अनुसार पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य शुरु भइसकेको छ। पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेताकार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको जस्ता आरोप लाग्न थालेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले सहरी, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, श्रम मन्त्रालयको जिम्मेवारी पाएको छ । सहरी मन्त्रालयको जिम्मेवारी रामकुमारी झाक्री, स्वास्थ्यको विरोध खतिवडा, पर्यटनको प्रेम आले, श्रमको किसान श्रेष्ठले जिम्मेवारी सम्हालिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा भने भवानीप्रसाद खापुङ रहेका छन् ।