बुस्केट्स भन्छन् – ‘जाभीले जादू चलाए, हामी खतरा टोली बन्दैछौँ’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्सले नयाँ प्रशिक्षकको आगमन पछि बार्सिलोनामा धेरै परिवर्तन भएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बुस्केट्सले प्रशिक्षक परिवर्तन भएपछि क्लबमा धेरै परिवर्तन देख्न मिलेको बताएका हुन्।

मुन्डो डेपोर्टिभोलाई अन्तर्वार्ता दिनेक्रममा बुस्केट्सले बार्सिलोनाको टोली पहिला भन्दा राम्रो र पूर्ण देखिएको बताए। उनका अनुसार टीमको रुपमा बार्सिलोना थप मजबुत हुँदै गएको छ।

“हामी अहिले पहिला भन्दा धेरै पूर्ण भएका छौँ। हामी धेरै कुराहरु राम्रोसँग गरिरहेका छौँ। हामी पहिला भन्दा धेरै एकीकृत भएका छौँ। यो स्पष्ट छ कि हामीले अझै लामो यात्रा तय गर्न बाँकी छ। तर हामीले बाटो भने पहिल्याएका छौँ।”,बुस्केट्सले भने।

बुस्केट्सले बार्सिलोनाको टोलीमा देखिएको परिवर्तनको श्रेय जाभी हर्नान्देजलाई दिए। जाभीको आगमन पछि बार्सिलोनाका खेलाडीहरुमा आत्मसम्मान र आत्मविश्वास पनि बढेको उनको भनाई छ। जाभीले वर्षौं देखि पहिल्याइरहेको दर्शनलाई बार्सिलोनाका खेलाडीहरुले पनि पहिल्याउन थालेको उनी मान्छन्। जाभीले गरेका परिवर्तनले बार्सिलोनालाई फरक स्थानमा उभ्याएको उनको बुझाई छ।

उनले भने,”अहिले सबै कुरा फरक छ। आत्मसम्मान, आत्मविश्वास बढेको छ। नयाँ प्रशिक्षक आएपछि धेरै कुरा परिवर्तन भएका छन्। जाभीले धेरै वर्षसम्म कायम राखेको दर्शनलाई हामी सबैले बुझ्न थालेका छौँ र त्यसैलाई पहिल्याइरहेका छौँ।”

बुस्केट्सले भने जस्तै जाभीको आगमन पछि बार्सिलोनामा धेरै परिवर्तन भएको छ। पहिला शिर्ष १० मा बल्ल तल्ल प्रवेश गरेको बार्सिलोना अहिले लालिगाको तेस्रो स्थानमा छ।

प्रकाशित : बुधबार, चैत ०२, २०७८१२:५५

अगुल्टोले पोलेको पीएसजी बिजुली देख्दा तर्सियो, मेस्सी फ्लप भएपछि रोनाल्डोसँग क्लब डरायो !