एजेन्सी – बोरुसिया डर्टमन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले आफ्नो भविष्यको टुंगो छिट्टै लगाउने चर्चा चलिरहेको छ। खबरमा आएअनुसार हालाण्डले कहाँ जाने भनेर आउने एक महिना भन्दा कम समयमा निर्णय गर्नेछन्।
आउने समरबाट हालाण्डको रिलिज क्लज सक्रिय हुँदैछ। रिलिज क्लज सक्रिय भएसँगै हालाण्ड भित्र्याउन अन्य क्लबले डर्टमन्डको निर्णय कुर्नुपर्ने छैन। रिलिज क्लज सकिए भएपछि हालाण्ड र उनलाई भित्र्याउन चाहने क्लबले एकआपसमा सहमति गर्न सक्नेछन्। त्यस अवस्थामा डर्टमन्डलाई रिलिज क्लजवापतको ७५ मिलियन युरो तिर्नुपर्नेछ।
बल हालाण्डको कोर्टमा
चर्चित पत्रकार फाब्रिजियो रोमानोका अनुसार बल हालाण्डको कोर्टमा छ। आफ्नो भविष्य बारे हालाण्डले स्वतन्त्र रुपमा निर्णय गर्न पाउनेछन्। उनको निर्णयमा डर्टमन्डको तर्फबाट कुनै पनि हस्तक्षेप हुने छैन। हालाण्डलाई भित्र्याउन चाहने क्लबले डर्टमन्डका अधिकारीहरुलाई भेट्न पर्नेछैन।
के होला हालाण्डको निर्णय ?
हालाण्डलाई भित्र्याउन धेरै क्लबहरुले चाहेका छन्। उनलाई भित्र्याउने लाइनमा बार्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी) र बायर्न म्युनिख जस्ता क्लबहरु छन्। युरोपका ठूला भन्दा ठूला क्लबले भित्र्याउन चासो देखाएका कारण हालाण्डलाई निर्णय गर्न समस्या परिरहेको छ।
हालाण्डका लागि यी क्लबहरु खुलेर खर्च गर्ने पक्षमा पनि छन्। तर आर्थिक पक्षलाई मात्र ध्यानमा राखेर निर्णय गर्ने हालाण्डको सोच छैन। क्लबको योजना, प्रशिक्षक र वर्तमान स्क्वाडलाई ध्यानमा राखेर उनले निर्णय गर्ने बताइन्छ।

