च्याम्पियन्स लिग: अन्तिम १६ मा सबै भन्दा उत्कृष्ट कसले खेल्यो ? हेर्नुहोस् सूची !

एजेन्सी – च्याम्पियन्स लिग क्वाटरफाइनलको समीकरण पूरा भएको छ। दुई लेगमा भएका खेल पश्चात अन्तिम १६ बाट ८ टोली बाहिरिएका छन् भने ८ टोली क्वाटरफाइनलका लागि छनौट भएका छन्।

जर्मन क्लब बायर्न म्युनिख, पोर्चुगिज क्लब बेन्फिका बाहेक लालिगा र प्रिमियर लिगका तीन-तीन क्लब क्वाटरफाइनलका लागि छनौट भएका छन्। क्वाटरफाइनल पुग्ने लालिगा क्लबहरुमा रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड र भिल्लारियल रहेका छन्। त्यस्तै प्रिमियर लिग क्लबहरु लिभरपुल, म्यानचेस्टर सिटी र चेल्सी क्वाटरफाइनल पुगेका छन्।

च्याम्पियन्स लिगको अन्तिम १६ मा कयौं रोमान्चक खेल भए। अन्तिम १६ मा लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता खेलाडी फ्लप हुँदा अन्य खेलाडीहरु चम्किए। आज हामी यहाँ अन्तिम १६ मा उत्कृष्ट प्रदर्शन गरेका पाँच खेलाडीहरु बारे चर्चा गर्दैछौँ।

क्रिस्चियन पुलिसिक

चेल्सीले लिललाई समग्रमा ४–१ ले हराउन सफल भयो। घरेलु मैदानमा लिललाई चेल्सीले २-० को गोल अन्तरले पराजित गरेको थियो भने लिलको घरेलु मैदानमा पनि चेल्सी नै २-१ ले विजयी भएको थियो। चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्दा क्रिस्चियन पुलिसिकको महत्वपूर्ण भूमिका रह्यो। उनले दुवै लेगमा एक-एक गोल गरेका थिए।

बर्नार्डो सिल्भा

बर्नार्डो सिल्भा जारी सिजन म्यानचेस्टर सिटीका सबैभन्दा महत्वपूर्ण खेलाडीको रुपमा अगाडी आएका छन्। सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पोर्टिङ सिपिलाई समग्रमा ५-० ले पराजित गर्दा महत्वपूर्ण भूमिका निभाए। पहिलो लेगमा सिटीको तर्फबाट भएका ५ गोल मध्ये २ गोल उनले गरेका थिए भने उनले एक असिस्ट पनि दिएका थिए। दोस्रो लेगमा केहि कम्जोर प्रदर्शन गरेपनि मिडफिल्डमा उनको राम्रो प्रदर्शनले स्पोर्टिङलाई रोक्न सक्यो।

किलियन एम्बाप्पे

किलियन एम्बाप्पे अन्तिम १६ को सबै भन्दा रोमान्चक खेलको हिस्सा थिए। पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिड भिड्दा दुवै लेगमा एम्बाप्पेले गोल गरेका थिए। पहिलो लेगमा एम्बाप्पेले गरेको गोल नै निर्णायक बनेको थियो। दोस्रो लेगमा रियलले तीन गोल फर्काउनु अगाडी पनि एम्बाप्पेले पिएसजीलाई अग्रता दिलाएका थिए। तर दुर्भाग्यवस एम्बाप्पेका लागि यस सिजनको च्याम्पियन्स लिग सकिएको छ।

रोबर्ट लेवान्डोस्की

बाय्रण म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ मा साल्जबर्गलाई नमिठो हार चखायो। पहिलो लेगमा १-१ को बराबरी खेलेपनि दोस्रो लेगमा बायर्नले ७ गोल गर्दा मात्रै एक गोल बेहोर्यो। बायर्न समग्रमा ८-२ को जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्यो। दोस्रो लेगमा लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गरे। लेवान्डोस्कीले साल्जबर्ग विरुद्ध ह्याट्रिक गरेका थिए। त्यसमध्ये २ गोल पेनाल्टी थिए।

करिम बेन्जेमा

च्याम्पियन्स लिगको अन्तिम १६ मा यदि सबै भन्दा बढी राम्रो प्रदर्शन रियल म्याड्रिडका करिम बेन्जेमाको रह्यो। पहिलो लेगमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि बेनेजा दोस्रो लेगमा भने छुट्टै लयमा देखिए। पिएसजी विरुद्ध ह्याट्रिक पूरा गर्न उनले २० मिनेट पनि लगाएनन्। उनले दोस्रो लेगमा ह्याट्रिक गर्दै रियललाई क्वाटरफाइनलमा पुर्याए।

प्रकाशित : बिहिबार, चैत ०३, २०७८१४:४५

“युनाइटेड भन्दा आर्सनल धेरै राम्रो, शिर्षमा चारमा युनाइटेडको नो चान्स”