एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले हालको लय एल क्लासिकोमा काम नआउने बताएका छन्। युरोपा लिगमा गालाटासारेलाई पराजित गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले हालको लय रियल म्याड्रिड विरुद्धको खेलमा काम आउने पक्का नरहेको बताएका हुन्।
बार्सिलोना गएको केहि महिना देखि राम्रो लयमा छ। जाभी प्रशिक्षकमा नियुक्त भएयता बार्सिलोनाको प्रदर्शनमा उल्लेख्य सुधार देखिएको छ। बार्सिलोना लालिगामा १२ खेल देखि अपराजित छ। सबै प्रतियोगिताको कुरा गर्ने हो भने बार्सिलोना ११ खेल देखि पराजित भएको छैन।
बार्सिलोना यति राम्रो लयमा रहेपनि हालको लय एल क्लासिकोमा काम आउँछ भन्ने पक्का नरहेको जाभी बताउँछन्। पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा जाभीले रियल म्याड्रिड विरुद्धको खेल धेरै नै कठीन हुने बताए।
“महत्त्वपूर्ण जित निस्कियो। यो युरोपेली प्रतियोगिता हो र हामी धेरै टाढा जान चाहन्छौं। एल क्लासिको अगाडी हामी धेरै राम्रो लयमा छौँ। तर त्यो लयले रियल विरुद्ध खासै केहि महत्व राख्दैन। मैले यस्तो भएको धेरै पटक देखेको छु। यो धेरै गाह्रो हुनेछ।”,जाभीले भने।
बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहिबार राति भएको खेलमा टर्किस क्लब गालाटासारेमाथि पूनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो।
बार्सिलोनाले प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोलीमाथि २–१ को पूनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गर्यो। बार्सिलोनाको जितमा पेड्री र पिएरे इमरिक औवामियाङले गोल गरे।

