रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलन घोषणा !

काठमाडौँ – रेशम चौधरीको रिहाइको माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुको रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर टीकापुर घटनामा झुठा मुद्दा लगाएर रेशमलाल चौधरी लगायतका नेताहरुलाई फसाएको आरोप लगाउँदै मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

आफ्ना मागहरुलाई सरकारले वेवास्ता गरेको मोर्चाको आरोप छ। वीरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरीलगायत थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी सहित निःसर्त रिहाइको मोर्चाले माग गरेको छ। आन्दोलनका कार्यक्रमको घोषणा गर्दै मोर्चाले एक विज्ञप्ति पनि जारी गरेको छ।

“हामीले उठाउँदै आएका जायज एवम् न्यायपूर्ण माग, मुद्दा एवम् विशुद्ध संविधानको अन्तरवस्तुसँग रहेका अधिकारका १३ बुँदे मुख्य राजनीतिक मागहरू अहिलेसम्म सरकारले सम्बोधन गरेको छैन । न त थरुहट आन्दोलनकर्मीहरूसँग नेपाल सरकारले २०६५ चैत्र १ गते भएको ६ बँुदे र २०६९ जेठ १० गते भएको १० बुँदे सहमति सम्झौतालाई कार्यान्वयन गरेको अवस्था छ । अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था, निअपराध थरुहट नेता एवं जनप्रतिनिधि मा.रेशमलाल चौधरीसहित थरुहट आन्दोलनकर्मीहरूलाई सुनियोजित रुपमा विभिन्न अभियोगमा झुठा मुद्दा लगाई जेलमा कोचिएको छ।”,मोर्चाको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१२:१५

“जाडोमा माईतीघरमा उफ्रिएर केही हुँदैन्, चिसो खाँदै माईतीघरमा नकुर्लिनुस्” – प्रचण्ड