एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीले लियोनेल मेस्सीसँग आफूलाई तुलना नगरिदिन आग्रह गरेका छन्। युरोपा लिगको अन्तिम १६ को दोस्रो लेगमा गालाटासारेमाथि पूनरागमन जित निकालेपछि पेड्रीले मेस्सीसँग तुलना नगरिन आग्रह गरेका हुन्।
पछि परेको अवस्थामा पेड्रीले नै बार्सिलोनालाई खेलमा फर्काएका थिए। पेड्रीले फेरान टोरेसको पासमा गोल गर्न सफल भएका थिए। टोरेसले दिएको बललिई बक्स भित्र नियन्त्रणमा लिएपछि पेड्रीले गालाटासारेका डिफेन्डरहरुलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए।
पेड्रीले गरेको सो गोललाई धेरैले मेस्सी शैलीको गोल भनिरहेका छन्। मेस्सीसँग तुलना गर्दै प्रशंसा गरिएपछि पत्रकारहरु समक्ष पेड्रीले आफ्नो गोललाई मेस्सीको गोलसँग तुलना गर्न नमिल्ने बताए। मेस्सीसँग आफूलाई तुलना गरिनु बेकार हुन जाने पेड्रीको भनाई छ।
“मेरो गोललाई मेस्सीको गोलसँग तुलना गर्न मिल्दैन। मेस्सीले मैले भन्दा धेरै राम्रो गोल गरेका छन्। मलाई मेस्सीसँग तुलना गर्नु पागलपन हो।”,मेस्सी शैलीको गोल गर्दा कस्तो लाग्यो भनेर प्रश्न गरिँदा पेड्रीले भने।
जाभीले के भने ?
बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले बिहिबारको खेलपछि पेड्रीको प्रशंसा गरे। गालाटासारे विरुद्ध पेड्रीले धेरै राम्रो खेलेको जाभीले बताए। जाभीका अनुसार पेड्रीको सो गोल अचम्मको थियो। पेड्रीको ड्रिब्लिङ देखेर आफू छक्क परेको जाभीले बताए।
“मैले पेड्रिको ड्रिबल देखें। मैले यसलाई फेरि हेर्नु पर्छ, तर यो अचम्मको गोल थियो। उनी मात्रै १९ वर्षको छन्। पेड्री जस्तो खेलाडीको प्रशिक्षक हुनुमा मलाई गर्व छ।”,जाभीले भने।

