काठमाडौँ – अमेरिकाबाट नेपाल आएका एक जना भुटानी शरणार्थी पक्राउ परेका छन्। ड्रोनभित्र सय ग्राम सुन लुकाएर ल्याएको आरोपमा एक जना भुटानी शरणार्थीलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा अनिषहाङ बहिङ राई रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो। उनले ड्रोनभित्र सय ग्राम सुन लुकाएर ल्याएको बताइएको छ।
कसरी पक्राउ परे ?
प्राप्त जानकारी अनुसार भुटानी शणनार्थी राई शुक्रबार दिउँसो काठमाडौं आइपुगेका हुन्। उनले ड्रोन ह्यान्डब्यागमा बोकेर ल्याएका थिए। उनले सो ह्यान्डब्याग एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्। कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा राईले ल्याएको ड्रोनभित्र सुन भेटियो।
एउटै सय ग्रामको ढिक्का ड्रोनभित्र भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले जनाएको छ। ह्यान्डब्याकमा सुन फेला परेपछि प्रहरी तथा कर्मचारीले उनको अर्को लगेज पनि चेक गरेका थिए। त्यसभित्र रहेको जुत्ता भित्रको भागबाट पनि चाँदीको जलप लगाइएको धातु बरामद भयो।
जुत्ताको तलुवाभित्र पनि चाँदीको जलप लगाइएको ९ सय ३४ ग्राम सुन जस्तो बस्तु भेटिएको बताइएको छ। सो वस्तुको ल्याब परीक्षण गरिएको र रिपोर्ट आउनेक्रममा रहेको छ। यस्तै उनको साथबाट पाँच वटा फोन पनि बरामद भएको छ। उनलाई महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।

