एजेन्सी – इटालियन फुटबल आइकन एन्टोनियो क्यासानोले क्रिस्टियानो रोनाल्डो विश्वकै उत्कृष्ट मध्ये एक नभएको दाबी गरेका छन् । टोटनह्याममाथि ३-२ को जितमा ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडका स्टार इतिहासमा सर्वाधिक गोल गर्ने फुटबलर बनेपनि रोनाल्डो उत्कृष्ट खेलाडीको सूचीमा नपर्ने क्यासानोले बताएका हुन्।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा क्यासानोले ८ सय ७ गोल पूरा गरेकोमा रोनाल्डोलाई सम्मान गर्ने भएपनि रोनाल्डो विश्वका उत्कृष्ट खेलाडीहरूको सूचीमा नपर्ने दावी गरे।
“८ सय ७ गोल पूरा गरेकोमा म उनलाई सम्मान गर्छु। तर मेरा लागि उनी विश्वका उत्कृष्ट खेलाडीहरूमध्ये पर्दैनन्।”,बोबो टेलिभिजनसँग कुराकानी गर्नेक्रममा क्यासानोले भने। क्यासानोका अनुसार रोनाल्डो उत्कृष्ट गोलस्कोरर भएपनि उत्कृष्ट फुटबलर होइनन्।
गोल गर्दै कोहि पनि उत्कृष्ट नहुने क्यासानोको भनाई छ। त्यसक्रममा इनिएस्टा र जिदान कम गोल गरेर पनि फुटबल इतिहासको एक हिस्सा बन्न सफल भएको उदाहरण प्रस्तुत गरे।
उनले भने,”गोलले खेलाडीलाई परिभाषित गर्दैन। गोलले एक खेलाडीलाई परिभाषित गर्थ्यो भने इनिएस्टा र जिदान छुट्टै स्थानमा हुन्थे। इनिएस्टाले ६० गोल पुर्याएका छैनन्, जिदानले १०० गोल पनि गरेका छैनन्। तर हेर्नुहोस् त यी दुई फुटबल इतिहाँसको कुन स्थानमा छन्। प्रतिभाशाली यी दुईले कम गोलका बाबजुत पनि फुटबल इतिहास रचेका छन्।”
कासानोले रोनाल्डोलाई निशाना बनाएको यो पहिलो पटक भने होइन। यस भन्दा अगाडी पनि उनी रोनाल्डो बारे यस्तै टिप्पणी गर्दै आएका छन्। गत अक्टोबरमा पनि उनले रोनाल्डो फुटबल इतिहासको शीर्ष पाँचमा पनि नपर्ने टिप्पणी गरेका थिए। आफ्नो फुटबल करियरमा कासानोले मात्रै ४ उपाधि जितेका छन्। तर रोनाल्डोको नाममा भने ३२ उपाधि छ।

