एजेन्सी – स्पेनिस लालिगामा पछिल्लो १२ खेलदेखि अपराजित रहेको क्याटलान क्लब बार्सिलोनाको वास्तविक परीक्षा आइतबार राति हुँदैछ। डिसेम्बरको पहिलो साता हार बेहोरेयता लालिगामा नहारेको बार्सिलोनाले आइतबार रियल म्याड्रिडको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार आज राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
लालिगामा बार्सिलोना पछिल्लो पटक डिसेम्बर ४ मा रियल बेटिससँग पराजित भएको थियो। त्यसयता बार्सिलोनाले कुनै पनि खेलमा पराजय भोगेको छैन। जनवरी ट्रान्सफर विन्डो यता त बार्सिलोनाले झनै राम्रो प्रदर्शन गरिरहेको छ। यस बीचमा बार्सिलोनाले एट्लेटिको म्याड्रिड जस्तो टोलीलाई पनि हराइसकेको छ।
जाभी हर्नान्देज प्रशिक्षकको रुपमा आएपछि खेलेका १५ लालिगा खेलमा बार्सिलोना मात्रै एक पटक हारेको छ। यसबीचमा बार्सिलोनाले १० जित निकालेको छ भने ४ खेलमा बराबरी खेलेको छ। जाभी आएपछि मात्रै बार्सिलोनाले लालिगामा ३३ गोल गरेको छ भने मात्रै ९ गोल बेहोरेको छ।
त्यस्तै रियल पनि पक्कै कम्जोर अवस्थामा छैन। लालिगाको जारी सिजनमा रियल म्याड्रिड मात्रै दुई खेलमा हारेको छ भने २८ खेल मध्ये २० खेलमा विजयी भएको छ।
जाभी र बार्सिलोनाको स्तरको वास्तविक परीक्षण भने रियल म्याड्रिड विरुद्ध हुनेछ। प्रशिक्षकको रुपमा जाभी आएयता धेरै सुधारिएको प्रदर्शन गरिरहेपनि रियल विरुद्ध जित निकाल्न बार्सिलोनालाई सहज भने हुने छैन। तर बार्सिलोनाले करिम बेन्जेमा नभएको मौका भने पक्कै पनि उठाउन सक्नेछ।
प्रशिक्षकको रुपमा जाभीका लागि यो दोस्रो एलक्लासिको हुने छ। यस अगाडी जाभी प्रशिक्षकमा नियुक्त भएपछि स्पेनिस सुपरकोपामा बार्सिलोना र रियल म्याड्रिड बीच भएको थियो। सो खेलमा रियल ३-२ को गोल अन्तरले विजयी भएको थियो।

