एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ ।
बायर्नले घरेलु मैदानमा युनियन बर्लिनमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो । थप दुई गोल किङ्सले कोमान र टांगे निएनजोउको नाममा रह्यो ।
एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १६औं मिनेटमा किङ्सले कोमानको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भयो । उनले लुकास हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए । २५औं मिनेटमा टांगे निएनजोउले योसुवा किम्मिखको पासमा हेडमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछिको दुवै गोल लेवान्डोस्कीको नाममा रह्यो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । पेनाल्टी बक्समा आफैलाई गोलरक्षक लुथेले फउल गरेपछि रेफ्रीले बायर्नलाई पेनाल्टी प्रदान गर्दा लेवान्डोस्की चुकेनन् ।
दोस्रो हाफको शुरुमै लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।
जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २७ खेलबाट ६३ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ७ अंकले पछि पारेको छ । डर्टमुन्डले एक खेल कम खेलेको छ । पराजित युनियन बर्लिन ३८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

