आइतबारको एल-क्लासिको कार्लो एन्सेलोटी र जाभी हर्नान्डेज बीचको बौद्धिक लडाई हुने देखिन्छ। यस्तोमा घरेलु टोली म्याड्रिडका अनुभवी प्रशिक्षक बार्सिलोनाका थोरै मात्र अनुभव रहेका प्रशिक्षकको काम देखेर निकै प्रशन्न भएका छन्।

रियल म्याड्रिड र बार्सिलोना बीचको आइतबारको भिडन्त अघि, एन्सेलोटीलाई युवा प्रशिक्षकको नेतृत्वमा ब्लुग्राना कसरी परिवर्तन भएको छ भनेर सोधिएको थियो। “बार्सिलोनाको पहिचान कहिल्यै परिवर्तन हुँदैन, किनकि क्लबको शैली स्पष्ट छ,” इटालियनले भने, “जाभी त्यो शैलीसँग राम्रोसँग फिट छन् र उनको नेतृत्वमा टोलीले धेरै सुधार गरेको छ। उनीहरु पूर्ण टोली हुन् र राम्रो खेलिरहेका छन्। मेरो विचारमा जाभीले राम्रो काम गरिरहेका छन्।”

बार्सिलोनामा जाभीको कामको लागि उनको प्रशंसा र ब्लाउग्राना क्लबको विशिष्ट शैलीमा खेलिरहेको उनको भनाइको बाबजुद, एन्सेलोटीका अनुसार आफ्नो टोलीका लागि एक सेट शैली राख्न मन नपर्ने बताएका छन्।

“फुटबल मेरो विचारमा एक शैलीको बारेमा मात्र होइन,” उनले भने, “म चाहन्छु कि मेरो टोलीले विभिन्न पहिचानहरू पाउन सक्षम होस्। मैले सधैं मेरा खेलाडीहरूलाई सहज महसुस गर्ने शैलीहरू प्रयोग गर्ने प्रयास गरेको छु।”

आइतबारको खेलको बारेमा थप विवरणमा कुरा गर्दै एन्सेलोटीले क्लब कप्तान करिम बेन्जेमाले बार्सिलोना विरुद्धको खेल गुमाउने पुष्टि गरे। “बेन्जेमा हाम्रो टोलीको एक धेरै महत्त्वपूर्ण सदस्य हो, त्यसैले अब हामीले समाधान खोज्नुपर्नेछ किनभने हामीसँग उनी छैनन्,” कोचले भने।

