एजेन्सी – केहि दिन अगाडी मात्रै क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले पिएरे इमिरिक औवामियाङ आफूहरुका लागि आकाशबाट खसेको उपहार जस्तै रहेको बताएका थिए। औवामियाङको आगमनले बार्सिलोनाको प्रदर्शनमा धेरै सकारात्मक प्रभाव पारेको जाभीको भनाई थियो।
“औवामियाङ हाम्रो लागि आकाशबाट झरेको एक शानदार उपहार जस्तै हो। उनी धेरै सकारात्मक छन् र उनको आगमनले धेरै परिवर्तन भएका छन्।”,त्यसबेला जाभीले भनेका थिए।
जाभीको सो भनाईको केहि दिन नबित्दै औवामियाङले जाभीको सो भनाई गलत नरहेको पुष्टि गरिदिए। आइतबार राति रियल म्याड्रिडको घरेलु मैदानमा उनले जुन स्तरको खेल प्रदर्शन गरे, त्यसले रियललाई घुँडा टेकायो।
खेलको २९ औं मिनेटमा ओस्मान डेम्बेलेको क्रसमा हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई अग्रता दिलाएका औबामेयाङले खेलको ५१ औं मिनेटमा पनि उनले गोल गरे।
जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब आर्सनलबाट बार्सिलोना आइपुगेका पिएरे इमिरिक औवामियाङ उच्च लयमा देखिएका छन्। सहजै बार्सिलोनाको टीममा स्थापित हुन साफल औवामियाङ राम्रो लयमा देखिएका हुन्।
आर्सनलका प्रशिक्षक र अधिकारीहरुसँग सम्बन्ध बिग्रिएपछि औवामियाङले धेरै खेलमा त्यहाँ मौका पाएका थिएनन्। तर बार्सिलोना आइपुगेपछि भने औवामियाङ छुट्टै स्तरको खेल प्रदर्शन गरिरहेका छन्।
जारी सिजनमा बार्सिलोना आउनु अगाडी औवामियाङले आर्सनलका लागि १४ खेल खेलेका थिए। त्यसक्रममा उनले मात्रै ४ गोल गर्न सफल भएका थिए। तर बार्सिलोना आएपछि भने उनले ७ खेलमा सातै गोल गरेका छन्। यस बीचमा उनले एक ह्याट्रिक समेत गरिसकेका छन्।

