चुनाव अगाडी फेरी एमालेमा देखियो दुई धार ! को-कता ?

काठमाडौँ – स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र दुई धार देखिएको छ। स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहको अनुकूलतामा तालमेल भन्नेबारे दुई धार देखिएको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सोमबार बसेको पोलिटब्युरो बैठकमा बोल्ने अधिकांश नेताले सत्ताधारी गठबन्धनलाई पराजित गर्न स्थानीय तहमै तालमेल गर्न छुट दिनुपर्ने आवाज उठाए। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालमा वाम पार्टी नै नभएको भन्दै तालमेल हुन नसक्ने बताए।

पोलिटब्युरो बैठकमा सहभागी नेताहरूले स्थानीय तहको निर्वाचन एमालेविरुद्ध घेराबन्दी भएकै कारण तालमेलको ढोका खुला राख्नुपर्ने बताएपछि ओलीले गठबन्धन वा तालमेल नहुने संकेत गरेका हुन्। ओलीले एमाले सरकार ढाल्ने कुनै पनि तत्वसँग तालमेल नहुने बताएका थिए।

उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को नाम नलिई सो पार्टीलाई गठबन्धनमा सहभागी नगराउने संकेत पनि गरे। उनले एमालेबाट ढोका फोरेर, सिसा फुटाएर बाहिर जानेलाई चुकुल नखोल्ने भन्दै त्यस्तो संकेत गरेका हुन्।

पार्टीको पोलिटब्युरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू दुई धारमा विभाजित भएका थिए। बैठकमा घनश्याम भुसाल, रघुजी पन्त र ठाकुर गैरेले स्थानीय तहमा तालमेल गरेर जानुपर्ने सुझाएका थिए।

तर महेश बस्नेत र हिक्मत कार्कीले वाम तालमेल गरेर अलमल्याउने काम गर्न नहुने बताएका थिए। उनीहरूले एमालेलाई सिध्याउन लाग्नेहरूसँग तालमेल नहुनेमा जोड दिए। ओलीनिकट नेता कर्ण थापाले पनि भुसाल, पन्त र गैरेको भनाइलाई खण्डन गरेका थिए।

बैठकमा नेताहरूले एमाले वाम एकताको मूल प्रवाह भएकाले त्यसको नेतृत्व पनि एमालेले नै गर्नुपर्ने बताएका थिए। ‘एमाले वाम एकताको मूल प्रवाह हो। नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामपन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ,’ बैठकमा भुसालले भनेका थिए। नेताहरूले बहुसंख्यक जनता वाम एकताको पक्षमा रहेको बताएका थिए। तर पार्टी अध्यक्ष ओलीले वाम पार्टी नै नभएकाले एकता नै नहुने बताएका थिए। ‘अहिले कसैसँग एकता हुँदैन, देशमा वाम नै छैन, केको एकता?’ ओलीले भनेका थिए, ‘अहिले वामपन्थी एकता हुँदैन। चुनावी एकता हुन्छ।’

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा वाम एकता र तालमेलको कुरा उठेको जानकारी दिए। तर उनले हल्लाखल्ला गरेर वाम तालमेल नहुने बताए। ‘अधिकांश साथीले चुनावी तालमेलबारे ठोस निर्णय होस् भन्नुभएको थियो। तर हामी अहिले हल्लाखल्ला गरेर वाम एकता भनेर जादैनौं,’ गुरुङले भने।

उनका अनुसार रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत अजेन्डा केन्द्रीय कमिटी बैठकमा पेस गरिने भएको छ। बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ। चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ प्रस्ताव पोलिटब्युरोबाट पारित भएका छन्। यसअघि नै एमाले सचिवालय बैठकले नगरपालिकाको प्रमुखउपप्रमुखको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने मापदण्ड बनाएको छ। महानगर र उपमहानगरको उम्मेदवार भने प्रदेशको सिफारिसमा केन्द्रले गर्ने तय भएको छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८०८:२६

निर्वाचन नजिकिँदै गर्दा भट्टाभट शिक्षकहरुको राजीनामा, आठ महिनामै यति धेरै दिए !