काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उनको दाबी छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए ।
सरकारले चालू आर्थिक वर्षको बजेट व्यक्तव्यमा पनि सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ ।
चैतको पहिलो हप्ता सम्पन्न हुँदा पनि विभागीयमन्त्रीदेखि सरकारका विभिन्न अधिकारीहरूले चैतभित्रै मेलम्चीको पानी आउने दाबी गर्दै आएका छन् ।
चैतमा आउला त मेलम्चीको पानी ?
सरकारको दाबीजस्तै मेलम्ची खानेपानी चैतभित्रै काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम भइरहेको पाइन्छ । अहिले अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको हो ।
मेलम्ची खानेपानी विकास बोर्डका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त निर्माण कम्पनीले चैतभित्रै अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सम्भव रहेको बताएकाले चैतभित्रै वितरण गर्न सम्भव रहेको बताउँछन् । ‘स्थायी समाधानका लागि अहिले पनि अध्ययन भइरहेको छ, अहिले हामीले चैतभित्रै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम गरिरहेका छौं, निर्माण कम्पनीले चैतभित्रै वितरण सम्भव रहेको बताएका छन्,’ उनले राजधानीसँग भने ।

