एजेन्सी – ब्राजिलका लिजेण्ड रिभाल्डोले नेयमार र लियोनेल मेस्सीले राम्रो प्रदर्शन गरेर आलोचकहरुलाई जवाफ दिन आग्रह गरेका छन्। पिएसजीका समर्थक नै मेस्सी र नेयमारको विरुद्धमा उत्रिएको विषयमा टिप्पणी गर्दै रिभाल्डोले राम्रो प्रदर्शन गरेर आलोचकहरुको मुख बन्द गरिदिन सुझाव दिएका हुन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा रिभाल्डोले आफ्नै क्लबका समर्थकले आलोचना गर्दा गार्हो महसुस हुने बताए। स्टार खेलाडीहरु माथि समर्थकहरुले धेरै अपेक्षा राख्ने र अपेक्षा अनुरुप प्रदर्शन गर्न नसक्दा आलोचना गर्ने रिभाल्डोको भनाई छ।
“जब आफ्नै समर्थकले आलोचना गर्छन् र ‘बू’ गर्छन्, तब धेरै गार्हो हुन्छ। तर ठूला नामका खेलाडीहरूलाई अक्सर यस्तो हुन्छ। किनकी स्टार खेलाडीहरुबाट समर्थकहरुले धेरै अपेक्षा राखेका हुन्छन्। यस्तो हुनु एक हिसाबले सामान्य पनि हो “,रिभाल्डोले भने।
लामो समय देखि च्याम्पियन्स लिग जित्ने सपना देखिरहेका पिएसजी समर्थकले सो सपना हुन अझै एक सिजन कुर्नुपर्ने भएपछि आक्रोश पोखेको रिभाल्डोले बताए। मेस्सी र नेयमार जस्ता खेलाडी आएपछि च्याम्पियन्स लिग जित्नेमा पिएसजी समर्थक ढुक्क रहेपनि त्यसो हुन नसकेपछि आक्रोशित भएको रिभाल्डोको बुझाई छ।
उनले भने,”मेस्सी र नेयमार जस्ता खेलाडी नभएर पनि च्याम्पियन्स लिगबाट छिट्टै बाहिरिनु पक्कै निराशाजनक हुन्छ। मेस्सी र नेयमारले अब अर्को च्याम्पियन्स लिगको लागि पर्खनुपर्नेछ। अब राम्रो प्रदर्शन गरेर मेस्सी र नेयमारले आलोचनालाई उल्टाउनुपर्नेछ।”

