काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड सुपरस्टार सलमान खानलाई ‘सगरमाथा आरोहण’का लागि निम्तो दिएका छन् । माउन्टेन उडानदेखि ‘ब्रेकफास्ट’सम्मका लागि आमन्त्रण गर्दै मन्त्री आलेले आगामी १४ जेठमा हुने ‘दबंग टुर’ विषयमा समेत खानस“ग बुधबार ‘भर्चुअल संवाद’ गरेका हुन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
संवादमा मन्त्री आलेले खानलाई माउन्टेन उडानमार्फत् हिमशृंखला दृश्यावलोकन गराउने प्रस्तावसमेत गरेका छन् । ‘तपाईंको समय मिल्छ भने म माउन्टेन उडानमार्फत् सगरमाथाको सयर गराउन चाहन्छु, सगरमाथा ब्रेकफास्टका लागि लोकप्रिय पनि छ,’ आलेले संवादक्रममा भने, ‘म तपाईंलाई सगरमाथा आरोहणका लागि समेत निमन्त्रणा गर्दछु ।’
अभिनेता खानलाई हेलिकोप्टरमार्फत भए पनि सगरमाथा आरोहण गराउने इच्छा भएको बताउ“दै मन्त्री ओलेले त्यसअनुसार समय मिलाउन आग्रहसमेत गरे । उनको आग्रहमा खानले ‘आफू पनि विश्वको सर्वोच्च शिखर आरोहणका लागि इच्छुक रहेको’ भन्दै ‘समय मिलाएर आउने’ बताए ।
मन्त्री आलेले कोभिडपछि नेपाल पूर्णरूपले खुला भइसकेको र पर्यटन प्रचुर सम्भावना रहेको भन्दै खानलाई विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि प्रस्ताव गरेका हुन् ।
नेपाली जनता र आफूसमेत ‘तपार्ईंको ठूलो फ्यान भएको’ बताउँदै मन्त्री आलेले ‘मैने प्यार किया’, ‘तेरे नाम’जस्ता फिल्म हेरेको स्मरणसमेत गरे । ‘मैले तपाईं अभिनित मैने प्यार किया हेरेको छु, त्यतिबेला म मुम्बईमै थिएँ । तेरे नाम पनि धेरै राम्रो फिल्म थियो,’ मन्त्री आलेले भने ।
मन्त्रीको जवाफमा ‘धन्यवाद’ भन्दै सलमानले आफू पनि नेपालमा पहिलोपटक फिल्म ‘बुलन्द’ सुटिङक्रममा आएको स्मरण गरे । तर, सो फिल्म रिलिज हुन नसकेको उनले बताए । यसअघि, तय ‘दबंग टुर’ विभिन्न कारण स्थगित हुन पुग्दा आफू दुखित भएको सलमानले जिकिर गरे । ‘दबंग टुर’मार्फत् नेपाल आउन चाहे पनि विभिन्न कारण स्थगित हुन पुगेको थियो । ‘आशा गरौं, यसपटक नेपालीलाई मनोरञ्जन प्रदान गर्न सकूँ,’ खानले भने ।

