विश्वकपपछि सन्यास लिने मेस्सीको संकेत ! के भने ?

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनेल मेस्सीले विश्वकप पश्चात राष्ट्रिय टोलीबाट सन्यास लिने संकेत गरेका छन्। फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई पराजित गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा मेस्सीले विश्वकप पश्चात राष्ट्रिय टोलीबाट सन्यास लिने संकेत गरेका हुन्।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मेस्सीले विश्वकप पछि धेरै कुरामा पुनर्विचार गर्ने बताए। विश्वकप राम्रो भएपनि नराम्रो भएपनि धेरै कुरामा पुनर्विचार गर्ने मेस्सीको भनाई छ।

“म अर्को खेलको बारेमा मात्रै सोचिरहेको छु। अर्को खेलमा इक्वेडरको सामना हुँदैछ, त्यही खेल मेरो प्राथमिकतामा छ। तर राम्रो भएपनि नराम्रो भएपनि विश्वकप पछि मैले धेरै कुराहरूमा पुनर्विचार गर्नुपर्नेछ।”,पत्रकारहरु समक्ष मेस्सीले भने।

कोपा अमेरिका जितेपछि आफू धेरै राम्रो महसुस गरिरहेको पनि मेस्सीले बताए। शनिबार बिहान अर्जेन्टिनाले भेनेजुएला विरुद्ध घरेलु मैदानमा खेलेको थियो। घरेलु मैदानमा विश्वकप अगाडी अर्जेन्टिनाले कुनै पनि खेल खेल्ने छैन। जसकारण मेस्सीले अर्जेन्टिनाका समर्थक समक्ष बिदाई पनि मागे।

मेस्सीले भने,”यहाँ एउटा अद्भुत समूह छ। मानिसहरूले मलाई धेरै माया गर्छन् र हरेक दिन माया थपिइरहेको छ। कोपा अमेरिका जितपछि झनै माया बढेको छ। भेनेजुएला विरुद्धको खेल विश्वकपमा जानु अगाडीको अन्तिम खेल थियो। मलाई लाग्छ यो धेरै राम्रो बिदाई हो।”

प्रकाशित : शनिबार, चैत १२, २०७८२०:३८

मैत्रीपुर्ण खेलमा स्पेनको जित, बेल्जियम रोकियो !