युरोमा मैदानमै ढलेका एरिक्सनको राष्ट्रिय टोलीमा पुनरागमन, दुई मिनेटमै गरे गोल ! [भिडियो सहित]

एजेन्सी – युरो २०२० का क्रममा ह्रदयघात भएर मैदानमै ढलेका मिडफिल्डर क्रिस्टियन एरिक्सनले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। युरो २०२० को दौरान ह्रदयघात भएयता एरिक्सनले पहिलो पटक डेनमार्कका लागि खेलेका हुन्।

युरो अन्तर्गत समूह चरणमा फिनल्याण्डको सामना गर्दा एरिक्सनलाई हृदयघात भएको थियो । त्यसपछि शल्यक्रिया गर्दै मुटुमा इम्प्लान्टेड कार्डियोभर्टर डेफी ब्रिलेटर (आइसिडी) नामक विशेष उपकरण जडान गरेर एरिक्सन मैदान फर्किएका थिए।

अहिले उनी प्रिमियर लिगको ब्रेन्टफर्डमा छन्। मैदान फर्किएयता एरिक्सनले प्रभावशाली प्रदर्शन गर्दै आएका छन् र उनले शनिबार राति नेदरल्यान्ड्स विरुद्धको खेलमा राष्ट्रिय टोलीमा पुनरागमन गरे।

नेदरल्यान्ड्स विरुद्धको खेलमा एरिक्सन ४६ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। मैदान प्रवेश गरेको दुई मिनेट नबित्दै उनले नेदरल्यान्ड्स विरुद्ध गोल गरे। नेदरल्यान्ड्ससँग हारेपनि एरिक्सनको यति बेला चर्चा भइरहेको छ।

खेल पश्चात एरिक्सनले राष्ट्रिय टोलीमा फिर्ता हुन पाउँदा धेरै खुसी लागेको बताए। नेदरल्यान्ड्सका समर्थकले गरेको स्वागतले आफूलाई भावुक बनाएको एरिक्सनको भनाई छ।

“मलाई यहाँ राम्रो गरियो। आयक्सबाट खेल्दा म धेरै वर्ष यहाँ थिएँ। यो पक्कै पनि धेरै हृदयस्पर्शी स्वागत थियो।”,उनले भने,”म एकदमै खुसी छु कि बल मैले पाएँ। पक्कै पनि त्यो एक राम्रो गोल थियो। अन्तर्राष्ट्रिय फुटबलमा यसरी पुनरागमन गर्न पाउनु आफैंमा एक राम्रो कुरा हो।”

विश्वकप अगाडी धेरै खेलहरु बाँकी रहेको उल्लेख गर्दै बाँकी सबै खेलमा राम्रो गर्ने आफ्नो योजना रहेको एरिक्सनले सुनाए।

नेदरल्यान्ड्सको सहज जित

स्टेभन वर्गवाइनले दुई गोलसँगै एक असिस्ट दिएपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले सहज जित हात पारेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा डच टोलीको जितमा स्टेभन वर्गवानले दुई तथा नथान एके र मेम्फिस डिपाएले समान एक गोल गरे । डेनमार्कका जान्निक भेस्टेरगार्ड र क्रिस्टियन एरिक्सनले समान एक गोल गरे ।

प्रकाशित : आइतबार, चैत १३, २०७८१०:२०

धेरै कुराहरूमा पुनर्विचार गर्ने मेस्सीको तयारी ! के-के हुन सक्छन् सम्भावित कदम ?