एजेन्सी – सिरी ‘ए’ क्लब युभेन्टस लिभरपुलका स्टार मोहम्मद सलाह भित्र्याउन इच्छुक देखिएको छ। सलाहले लिभरपुलमा सम्झौता थप गर्न नमानिरहेको अवस्थामा युभेन्टस सलाह भित्र्याउन इच्छुक देखिएको हो।
क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको एक वर्ष नबित्दै अर्का फरवार्ड पाउलो डिबालाले पनि क्लब छाड्ने भएसँगै युभेन्टसलाई राम्रो फरवार्ड चाहिएको छ। यस्तोमा युभेन्टसको नजर सलाहमा परेको छ।
युभेन्टसले आउने समर ट्रान्सफर विन्डोमा सलाहलाई भित्र्याउने प्रयास गर्ने इटालियन मिडियाहरु बताउँछन्। पहिला पनि इटालियन लिगमा खेलिसकेका कारण सलाह इटाली फर्किन सक्ने सम्भावना देखिन्छ।
के छ अवस्था ?
सलाह लिभरपुलमै बस्न चाहिरहेको भएपनि उनले उच्च पारिश्रमिक माग गरिरहेका छन्। सलाहले माग गरेजति पारिश्रमिक दिन लिभरपुल भने तयार देखिँदैन। बताइएअनुसार, सलाहलाई प्रिमियर लिगकै उच्च पारिश्रमिक चाहिएको छ। लिभरपुल सलाहले माग गरेजति पारिश्रमिक दिन तयार नभएपनि युभेन्टस भने सलाहको चित्त बुझाएर उनलाई क्लबमा भित्र्याउने योजना सहित अगाडी बढिरहेको छ।
रोनाल्डोले युभेन्टसमा वार्षिक ३० मिलियन युरो भन्दा बढी पारिश्रमिक पाउँदै आएका थिए। रोनाल्डो युनाइटेड गए देखि युभेन्टसले सो रकम बचाइरहेको छ। साथै आउने समरमा डिबालाले क्लब छाडेको खण्डमा वार्षिक १० मिलियन युरो भन्दा बढी रकम युभेन्टसको जोगिनेछ। रोनाल्डो र डिबालाको पारिश्रमिक बच्ने हुँदा सलाहले माग गरेजति उच्च पारिश्रमिक दिन युभेन्टसलाई कुनै पनि समस्या हुने छैन।

