शरीरलाई राम्रो बनाउनको लागि, आहारमा विभिन्न प्रकारका पौष्टिक चीजहरू समावेश गर्न आवश्यक हुन्छ। प्रोटिन, भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टले भरपूर खानेकुराले तपाईंलाई स्वस्थ राख्छ र धेरै रोगको जोखिम कम गर्न पनि मद्दत गर्छ। जब मानिसहरू पौष्टिक खानाको बारेमा सोच्छन्, मानिसहरूको दिमागमा पहिलो विचार आउँछ मांसाहारी खाना। अध्ययनहरूले यो पनि पुष्टि गर्दछ कि जनावरहरूमा आधारित आहारहरू प्रोटीन र भिटामिनका उच्च श्रोत हुन्। तर यसमा पनि तपाईंले केहि कुराहरुमा धेरै सावधान रहनु आवश्यक छ, विशेष गरी रातो मासु को अत्यधिक खपतले तपाईंलाई हानि गर्न सक्छ।

रातो मासुलाई प्रोटीनको एक उत्कृष्ट स्रोत मानिन्छ। यसको सेवनबाट शरीरमा यस्ता धेरै पोषक तत्वहरू सजिलै उपलब्ध हुन सक्छन्, जुन बिरुवामा आधारित खानेकुराबाट प्राप्त गर्न निकै कठिन मानिन्छ। तर अत्यधिक रातो मासु खाने बानीले पनि तपाईंको समस्या बढाउन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार रातो मासु बढी खाने व्यक्तिमा धेरै गम्भीर रोगको जोखिम बढ्छ, त्यसैले यसको नियन्त्रित सेवन मात्र गर्नुपर्छ। यस्तोमा आज हामी तपाईंलाई रातो मासुबाट हुने केही स्वास्थ्य जोखिमहरू बारे बताउँछौं…
मुटु रोगको खतरा
धेरै रातो मासु खाने मानिसमा मुटु रोगको जोखिम बढेको अध्ययनले देखाएको छ। रातो र प्रशोधित मासु दुबैको खपत हृदय रोग र स्ट्रोकको बढ्दो जोखिमसँग जोडिएको छ। अन्वेषकहरूले पत्ता लगाए अनुसार धेरै रातो मासु खाने मानिसहरूको गट ब्याक्टेरिया कम हुन्छ। यसबाहेक यस्ता व्यक्तिमा रगत जम्ने र धमनीमा अवरोध हुने खतरा पनि धेरै हुन्छ, जसलाई मुटु रोगको मुख्य कारण मानिन्छ।
क्यान्सरको जोखिम
केही अध्ययनहरूले पत्ता लगाएका छन् कि रातो मासुले कोलोन र रेक्टल क्यान्सरको जोखिम बढाउन सक्छ। यसको उच्च सेवनलाई प्रोस्टेट र प्यान्क्रियाटिक क्यान्सरको जोखिम कारकको रूपमा पनि हेरिन्छ। क्यान्सरको जोखिम कम गर्न मानिसहरूले रातो मासुको सट्टा कुखुराको मासु र बोटबिरुवामा आधारित खानेकुराको सेवनमा ध्यान दिनुपर्छ।
मधुमेह रोगीका लागि खतरनाक
थोरै मात्रामा पनि रातो मासु बारम्बार खाने बानीले मधुमेहको जोखिम बढाउन सक्छ। सन् २०२० को एक अध्ययनले दैनिक ५० ग्राम रातो मासु खाँदा मधुमेहको जोखिम ११ प्रतिशतले बढ्न सक्ने देखाएको थियो। थप रूपमा, मधुमेह भएका मानिसहरूलाई प्रशोधित मासुको उपभोगबाट बच्न सल्लाह दिइन्छ। रातो मासुले रगतमा चिनीको मात्रालाई असर गर्न सक्छ।
एलर्जीको समस्या
रातो मासु र जनावरमा आधारित खानेकुराको अत्यधिक सेवनका कारण कतिपय मानिसमा अल्फा ग्याल सिन्ड्रोम नामक एलर्जीको समस्या हुनसक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। अध्ययनहरूले यो एलर्जीलाई केहि परिस्थितिहरूमा घातक हुने देखाएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार रातो मासु खाएपछि कुनै पनि प्रकारको समस्या भएमा यस प्रकारको मासु सेवन नगर्नु नै राम्रो हुन्छ।

