काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका दुई महामन्त्री फरक-फरक धारमा देखिएका छन्। स्थानीय तह चुनावमा गठबन्धन गर्ने सम्बन्धमा दुई महामन्त्री फरक-फरक धारमा देखिएका हुन्।
महामन्त्री गगन थापा गठबन्धनको विपक्षमा छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा गठबन्धनको पक्षमा छन्। निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अगाडी बढ्नुपर्ने थापाको भनाई छ। तर उता शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने बताउँछन्।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा दुवै महामन्त्रीले आफ्नो-आफ्नो विचार राखे। त्यसक्रममा थापा स्पष्ट रुपमा गठबन्धनको विपक्षमा देखिँदा शर्मा भने आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा देखिए।
दुवैले के भने ?
तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री थापाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको स्पष्ट रुपमा बताए। गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने धारणा राखे।
देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न लगाउँदा भविष्यमा पार्टीलाई अफ्ठेरो पर्ने बताए। थापाले अहिले माओवादी केन्द्रको हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्हमा भोट हालेको कांग्रेस कार्यकर्ताले भविष्यमा रुखमा भोट नहाल्ने सम्भावना रहने उल्लेख गरे।
“म चुनावी गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन। देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्लान् त?”,थापाले भने।
त्यस्तै अर्का महामन्त्री शर्मा भने चुनावी तालमेल गर्नुपर्छ भन्नेकम्जोर भएका सभापति शेरबहादुर देउवाको पक्षमा उभिए। नेपाली कांग्रेस कम्जोर भएका स्थानहरुमा गठबन्धन गर्नुपर्ने शर्माले बताए।
शर्माले भने,”हामी कतै एक्लै बलियो अवस्थामा छौँ । तर, केही ठाउँको स्थिति हेर्ने हो भने निकै कमजोर छौँ । त्यसैले गठबन्धन आवश्यकता अनुसार गर्नुपर्छ।”