एजेन्सी – नर्थ म्यासेडोनियाका डिफेन्डर एज्डजान अलिओस्कीले पोर्चुगललाई हराएर विश्वकप खेल्ने पूरा गर्न आफूहरु आतूर रहेको बताएका छन्। फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा पोर्चुगलको सामना गर्नु अगाडी अलिओस्कीले पोर्चुगललाई हराउँदै विश्वकपमा छनौट हुन आफूहरु तयार रहेको बताएका हुन्।
युरोपियन च्याम्पियन इटालीलाई पराजित गरेपनि विश्वकपमा छनौट हुन अझै एक महत्वपूर्ण खेल बाँकी रहेको र सो खेलमा सपना पूरा गर्न सम्भव सबै कार्य गर्ने अलिओस्कीले बताए।
“हामीले युरोपको च्याम्पियन इटाली जस्तो उत्कृष्ट टोलीलाई हराएका छौँ। तर अझै पनि विश्वकपको पासपोर्टमा छाप लागिसकेको छैन। विश्वकप खेल्ने सपना पूरा गर्न हामी सबै काम गर्नेछौं।”,अलिओस्कीले भने।
त्यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको प्रशंसा गर्न भने छुटाएनन्। अलिओस्कीले रोनाल्डो गएको दुई दशक देखि निरन्तर उच्च प्रदर्शन गरिरहेको र उनको लक्ष्य विश्वकप रहेको कुरा आफूहरुलाई राम्रोसँग थाहा भएको बताए। तर रोनाल्डोको लक्ष्यमा आफूहरु बाधक बन्ने उनको भनाई छ।
उनले भने,”रोनाल्डो लगभग २० वर्षदेखि उच्च स्तरमा खेल्दै आएका छन्। स्वाभाविक रूपमा, उनको विश्वकपमा पुग्ने लक्ष्य छ। हामी उनको जीवन बिगार्न चाहँदैनौं, तर हामी हाम्रो सपना साकार पार्न चाहन्छौं।”
रोनाल्डो के भन्छन् ?
रोनाल्डो नर्थ म्यासेडोनियालाई कम्जोर आँकेर खेल्ने पक्षमा भने छैनन्। खेल अगाडी रोनाल्डोले नर्थ म्यासेडोनिया धेरै व्यवस्थित टोली रहेको बताए। नर्थ म्यासेडोनियाको सम्मान गर्दै गम्भीर भएर खेल्ने रोनाल्डोको भनाई छ। त्यस्तै रोनाल्डो पोर्चुगल उत्कृष्ट लयमा रहेको पनि दावी गर्छन्। रोनाल्डोका अनुसार पोर्चुगलले विश्वका जुन सुकै देशलाई हराउन सक्छ।
“हाम्रा लागि यो जीवनकै महत्वपूर्ण खेल हो। म अघिल्लो खेलमा पाएको समर्थनको कदर गर्छु। नर्थ म्यासेडोनिया धेरै संगठित र व्यवस्थित छ। हामी यसलाई सम्मान गर्छौं। तर हामी उत्कृष्ट फर्ममा छौँ। अहिले विश्वको कुनै पनि टोलीलाई हराउन सक्छौं।”,खेल अगाडी रोनाल्डोले भने।

