काठमाडौँ – नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने रणनीति बनाएको संकेत मिलेको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने संकेत गरेका हुन्।
बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भरतपुर महानगरमा आफूहरुको दाबी रहेको बताए। उनले भने,”भरतपुरको मेयरमा हाम्रो स्वाभाविक दाबी रहन्छ।”
प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताए। तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी प्रचण्डले दिए।
“महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं। कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ।’,प्रचण्डले भने।
२०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र माओवादीबीच तालमेल भएको थियो। त्यसबेला प्रचण्डपुत्री रेणु दाहाल मेयरमा विजयी भएका थिइन् भने उपमेयरमा नेपाली काँग्रेसले जितेको थियो। प्रचण्डले मेयर पदमा आफूहरुको दाबेदारी हुने बताएसँगै रेणु दाहाल नै भरतपुर महानगरपालिकाको मेयरमा दोहोरिने सम्भावना बढेको छ।