काठमाडौं । टिपरको ठक्करबाट दुई स्कुले बालिकाको ज्यान गएको छ । बुधबार विहान गोकर्णेश्वर नगरपालिका—१ स्थित श्वेतबाराही मन्दिरनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको ज्यान गएको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
३१ वर्षीय रोहन घिसिङ मोटरसाइकलमा दुई छोरी क्रमशः आठ वर्षीया सृष्टी घिसिङ र चार वर्षीया श्रेया घिसिङलाई विद्यालय पुर्याउन जाँदै गर्दा उनीहरु सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा चढाएर घिसिङले दुई छोरीलाई स्कुल पठाउन बस स्टपसम्म पुर्याउँदै गर्दा घटना भएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर चारमा सञ्चालित वल्र्ड युथ ईन्टरनेश्नल स्कुलमा सृष्टी कक्षा दुईमा र श्रेया नर्सरीमा पढ्दै आएक थिए ।
बा ४ ख ६९६५ नम्बरको टिपरले घिसिङसवार मोटरसाइकललाई ठक्कर दिँदा सृष्टी र श्रेया दुवैको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । टिपरले ठक्कर दिँदा घाइते भएका घिसिङको भने नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । घिसिङको श्रीमति र दुई छोरीमात्रै थिए । घटनापछि स्थानीयले नजिकै रहेको क्रसरमा गएर अन्य दुई टिपरमा पनि तोडफोड गरेका थिए । टिपरका चालकलाई पक्राउ गरि अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी सुदीप गिरीले स्थानीय क्रसर उद्योगको टिपर घटनामा संलग्न भएको देखिएको बताए । उनले भने, ‘टिपर चालकलाई हामीले पक्राउ गरिसकेका छौं । थप अनुसन्धान भइरहेको छ ।’ उक्त घटनामा ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ ।
स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ क्षत्तिपूर्ति दिने सहमति भएको छ । घाइतेको उपचार पनि टिपर कम्पनीले गर्ने सहमति भएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै बालिकाको शव बुझेर लगेका हुन् ।

