काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
नयाँ वरीयतामा नेपाल १ सय ६८औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत दुई स्थान तल झर्दै १ सय ६औं स्थानमा तथा माल्दिभ्स एक स्थान सुधार गर्दै १ सय ५६औं स्थानमा रहेको छ ।
नेपालभन्दा मुनि भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । दुई स्थान तल झरेको भुटान १८७औं, दुई स्थान तल झरेको बंगलादेश १८८औं, यथावत रहेको पाकिस्तान १९७औं र श्रीलंका एक स्थान तल झर्दै २०५औं स्थानमा पुगेको छ ।
नयाँ वरीयता अनुसार बेल्जियमलाई पछि पार्दै ब्राजिल शीर्षस्थानमा उक्लिएको रहेको छ । बेल्जियम सन् २०१८ को अक्टोवरदेखि लगातार शीर्षस्थानमा रहेको थियो । झन्डै चार वर्षपछि बेल्जियमले शीर्षता गुमाएको हो ।
बेल्जियम दोस्रो स्थानमा झर्दा शीर्ष ८ मा कुनै परिवर्तन भएको छैन । फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन र पोर्चुगल तेस्रो देखि आठौं स्थनमा यथावत रहेको छ । चार स्थान सुधार गर्दै मेक्सिको नवौं स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्स १०औं स्थानमा रहँदा डेनमार्क र जर्मनीको वरीयता खस्किदा ११औं र १२औं स्थानमा रहेको छ । एसियामा इरान, जापान र दक्षिण कोरिया शीर्ष तीनमा रहेका छन् ।

