“हाम्रो पार्टीप्रति जनताको आकर्षण देखेर एमाले नेताहरु बरबराउन थाले”

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेताहरु बरबराउन थालेको बताएका छन्। मंगलबार कपिलवस्तुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर एमाले नेताहरु आत्तिएर बरबराउन थालेको बताएका हुन्।

मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ मा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने अवस्था देखेर नेकपा एमालेका नेताहरू बरबराउन थालेको टिप्पणी गरे।

पार्टी गठन भएको ६ महिनामै पार्टीले जनताको मन जित्न सकेको नेपालको भनाई छ। ६ महिना अघि मात्रै गठन गरिएको पार्टीमा जनताको लहर बढेको नेपालले बताए।

गत निर्वाचनमा जनताले विश्वास गरेर जिताएको पार्टीले संविधान मास्ने तथा हावादारी गफ गरेर जनतालाई अलमलाएको आरोप लगाउन पनि नेपालले छुटाएनन्। नेकपा एमालेको सूर्यमा ग्रहण लागिसकेको हुँदा कलमलाई विश्वास गरेर मतदान गर्न नेपालको अपिल छ।

“एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडि बढेको छ । न्याय, सत्य र परिवर्तनको लागि काम गरेकाले ६ महिनाअघि गठन गरेको पार्टीमा अहिले जनताको लहर लागेको छ, मेयर र वडा अध्यक्ष दैनिकरूपमा पार्टी प्रवेश गरिरहेको सबैले देखेका छौं।”,उनले भने,”अघिल्लो निर्वाचनमा जनताले विश्वास गरेर जिताएको पार्टीले संविधान मास्ने र कामभन्दा बढी हावादारी गफ दिएर जनतालाई अल्मलाउने काम गर्‍यो, अब भने त्यस्तो अलमलमा कोही पनि बस्नेवाला छैनन्।”

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१९:१४

गठबन्धन सरकारलाई ओलीको श्राप ! के भने ?