एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लिगमा स्पेनिस महारथी रियल म्याड्रिड फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग १-०को गोल अन्तरले पराजित भयो। सो खेलमा रियल एकदमै कम्जोर देखिएको थियो।
चोटका कारण केहि समय मैदान बाहिर रहेर फर्किएका करिम बेन्जेमाले सो खेलमा खासै कमाल गर्न सकेनन्। समग्रमा रियलले त्यसबेला धेरै नै कम्जोर प्रदर्शन गरेको थियो। सो प्रदर्शनसँगै रियल च्याम्पियन्स लिगबाट बाहिरिने चर्चा शुरु भएको थियो।
तर रियलले दोस्रो लेगमा ठीक विपरित प्रदर्शन गर्यो। रियलले पिएसजीलाई घुँडा टेक्न बाध्य बनायो। बेन्जेमाले १७ मिनेट भित्रै कमाल नै गरे। उनले ६१, ७६ र ७८ औं मिनेटमा ह्याट्रिक पूरा गरे। बेन्जेमाको ह्याट्रिकसँगै रियलले क्वाटरफाइनलमा स्थान बनायो। करिम बेन्जेमाको सो प्रदर्शन उनको करियरकै उत्कृष्ट मध्येको एक थियो।
हालसालै एक अन्तर्वार्ताका क्रममा बेन्जेमाले सो खेल बारे कुराकानी गरेका छन्। त्यसक्रममा उनले दोस्रो लेगको पहिलो हाफमा गोल बेहोरेपछि पनि आफूहरुले हार नखाएको स्मरण गरे। बेन्जेमाका अनुसार खेलको हाफपछि उनले रियलका खेलाडीहरुलाई निरन्तर आक्रमण गर्न प्रेरित गरेका थिए।
बेन्जेमाले हाफपछि काउन्टर अट्याक मात्र गर्न आग्रह गरेको बताए। दुई गोलले पछि परेपनि आफूहरुले जित्ने सम्भावनाको अन्त्य नभएको कुरा उनले आफ्ना सहकर्मीहरु माझ भनेका थिए।
“पेरिसमा १-० ले पछि परेपनि हामीलाई केहि फरक परेन। दोस्रो लेगको पहिलो हाफमा पनि गोल बेहोरेपनि मैले सबै खेलाडीसँग कुरा गरें। त्यसबेला मैले भनेको थिएँ -साथीहरू, हामी ठीक छौं। हामीले गोल बेहोर्यौं, तर आक्रमण गर्ने प्रयास गरिरहेका छौं। यसलाई अझ आक्रामक बनाएर अगाडी बढौं। यो सामान्य छ, हामीले आक्रमण गर्नुपर्छ। काउन्टरहरूको मौका खोजौं।'”,बेन्जेमाले भने।

