दीपक मनाङे पक्राउ !

काठमाडौँ – गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन्। मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमै झापड हानेपछि मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीले मनाङेलाई नियन्त्रणमा लिएको छ।

दीपक मनाङे नामले परिचित गण्डेकी प्रदेश सांसद राजीव गुरुङले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई पोखराको मुख्यमन्त्री कप फुटबलको उद्घाटनक क्रममा हातपात गरेका थिए।

प्रतियोगिता उद्घाटनका लागि गण्डकीका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ पुग्नुअघि नै मनाङको टोलीलाई सुविधा नदिएको भन्दै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेको बताइएको छ ।

एन्फा कास्कीका अध्यक्ष गुुरुङले बुधबार मनाङेले आफूलाई हातपात गरेको भन्दै जिउ धनको सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेका थिए । त्यस्तै सांसद गुरुङ र अध्यक्ष गुरुङले बुधबार छुट्टा छुट्टै पत्रकार सम्मेलन गर्दै एकअर्काविरुद्ध खनिएका थिए ।

बुधबार पत्रकार सम्मेलन गर्दै मनाङेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई पाठ सिकाउन झापड हानेको बताएका थिए।

“यो मान्छे नामुद ठग रहेछ मैले एक झापड हान्दिएँ। मुख्यमन्त्री कप भइरहेको छ। यसलाई मुख्यमन्त्रीले हान्‍नुपर्ने मैले पो हानेँ।”,पत्रकार सम्मेलनमा मनाङेको भनाई थियो।

प्रकाशित : बिहिबार, माघ ०९, २०७६१०:५०

भोलि वाग्मती प्रदेशमा सार्वजनिक बिदा !