एजेन्सी – यसै सिजन फ्री ट्रान्सफरमा बार्सिलोना आइपुगेका मेम्फिस डिपेको भविष्य अनिश्चित छ। सिजनको शुरुवातमा निरन्तर मौका पाएपनि डिपेले पछिल्लो समय बार्सिलोनामा नियमित मौका पाउन छाडेका छन्। क्लबमा फरवार्डको खडेरी लाग्दा मात्रै उनले मौका पाएका थिए। तर अहिले बार्सिलोनासँग पर्याप्त फरवार्ड छन्। जसले गर्दा बार्सिलोनामा उनको महत्व घटाएको छ।
हुन त डिपेले अपेक्षा जस्तो प्रदर्शन पनि गर्न सकिरहेका छैनन्। यसले पनि डिपेलाई समस्यामा पारेको छ। डिपेले लालिगाको जारी सिजनमा बार्सिलोनाका लागि २१ खेल खेलेका छन्। जसमा उनी १५ पटक मात्रै शुरुवाती ११ मा परेका छन्। यसबीचमा उनले १० गोल गर्दै २ असिस्ट दिएका छन्।
जनवरी ट्रान्सफर विन्डो पश्चात त उनले झनै कम मौका पाउँदै आएका छन्। यस हेर्दा उनी यसै सिजन प्रशिक्षकको रुपमा एक जाभीको रोजाईमा पर्न नसकेको देखिन्छ। जाभीले डिपेलाई खासै विश्वास गर्न सकिरहेका छैनन्। जाभीको रोजाईमा पर्न नसकेसँगै डिपेले बार्सिलोना छाड्न सक्ने सम्भावना बढेको छ।
विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाले डिपेलाई बेच्न सक्छ। फ्री ट्रान्सफरमा किनेर ल्याएका डिपेलाई बेच्न सके बार्सिलोनालाई फाइदै हुनेछ। डिपेलाई प्रिमियर लिगका दुई क्लबले भित्र्याउन चाहेको बताइन्छ।
आर्सनल र न्यू-क्यासल जस्ता दुई क्लब डिपेको अवस्थालाई नजिकबाट नियालिरहेको स्पेनिस मिडियाहरुको दावी छ। डिपेलाई भित्र्याउन यी दुई क्लब बीच प्रतिष्पर्धा हुन सक्ने देखिन्छ। डिपेलाई बिक्री गर्ने-नगर्ने विषयमा बार्सिलोनाले स्पष्ट पारेमा उचित प्रस्ताव गर्ने दुवै क्लबको तयारी छ।

