काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य निर्वाचनमा विजयी भएका छन्। श्रेष्ठ राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा विजयी भएका हुन्।
बिहिबार सम्पन्न मतदानमा निकटतम प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीलाई श्रेष्ठले पराजित गरे। राष्ट्रिय सभा सदस्य हुन श्रेष्ठले ३४६२ मत प्राप्त गरे। यता काँग्रेसका रेग्मीले २२४४ मत पाए। श्रेष्ठ र रेग्मी बीचको १२१८ मतान्तर रह्यो।
गण्डकी प्रदेशको महिला तर्फपनि नेकपानै विजयी भएको छ। महिला तर्फव नेकपाकी भगवती न्यौपाने विजयी भइन्। उनले ३३६६ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी विमला गौचनले २३४० मत प्राप्त गरिन्। दुईबीच १०२६ मतान्तर रह्यो।
गण्डकीमा ‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि भएको निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० गरी २३० मतदाताले भाग लिएका थिए।
प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । प्रदेशसभाको दुई हजार ८८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार गण्डकीमा छ ।
निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसले ‘अन्य समूह’ र ‘महिला समूह’दुवै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले ‘अन्य समूह’ तर्फमात्र उम्मेदवारी दिएको थियो ।