एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा ट्रान्सफर मार्केटमा राम्रोसँग आँखा डुलाइरहेका छन्। जनवरी ट्रान्सफर विन्डोमा केहि राम्रो ट्रान्सफर सम्भव गराएका लापोर्टा आउने ट्रान्सफर विन्डोमा पनि राम्रा खेलाडीहरु भित्र्याउने पक्षमा छन्।
हालको अवस्थामा लापोर्टाको ध्यान सबै भन्दा बढी बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले तानिरहेका छन्। बताइएअनुसार लापोर्टाले लेवान्डोस्कीलाई आउने ट्रान्सफर विन्डोमै भित्र्याउन चाहेका छन्। पहिला लापोर्टाको ध्यान नर्वेली युवा स्टार एर्लिङ हालाण्डमा थियो। तर हालाण्ड भित्र्याउन धेरै क्लबहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने भएपछि लापोर्टा लेवान्डोस्की तर्फ केन्द्रित भएका छन्।
लेवान्डोस्कीको सम्झौता सन् २०२३ मा सकिँदै छ। तर बायर्न म्युनिखले उनलाई अहिले सम्म सम्झौता थपका लागि कुनै पनि प्रस्ताव गरेको छैन। यस्तोमा लेवान्डोस्कीलाई बायर्नले आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ। बायर्नले लेवान्डोस्कीलाई बिक्रीमा राखेको खण्डमा भित्र्याउने प्रयास गर्ने बार्सिलोनाको योजना छ।
खबरका अनुसार लेवान्डोस्कीका प्रतिनिधि र बार्सिलोनाका अधिकारीहरु बीच कुराकानी समेत भैसकेको छ। कुराकानी सकारात्मक दिशामा अगाडी बढेको बताइन्छ। अहिले सम्म दुई पक्ष बीच दुई पटक भेट भइसकेको छ। दुई भेट पश्चात बार्सिलोना लेवान्डोस्कीको जवाफ कुरिरहेको छ। लेवान्डोस्कीले गरिन सिग्नल दिएको खण्डमा बार्सिलोनाले बायर्नसँग ट्रान्सफर बारे कुरा गर्नेछ।

