काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कस्तो अरिंगाल हो भन्ने कुरा निर्वाचनमा थाहा हुने बताएका छन्। शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले अरिंगाल के हो भन्ने चुनावमा थाहा हुने बताएका हुन्।
नेकपा एमाले पर्वतको आयोजनामा सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नेक्रममा ओलीले अरिंगाल जस्तो एमालेमाथि जाइनलाग्न चेतवानी दिसकेको उल्लेख गरे।
“मैले केही समयअघि नेकपा एमालेलाई टोक्न नखोज। अरिंगाले त गोलो चलायो भने टोक्छ भने एमालेलाई चलायो भने त्यसको दुर्गति हुन्छ भनेको थिएँ। निकै अरिंगालको कुरा गरे। अब थाहा हुन्छ अरिंगाल भनेको के हो। चुनावका बेला थाहा हुन्छ।”,ओलीले भने।
यस्तै ओलीले आफ्नो पार्टीले देशको विकास गरेको अन्य दलहरु आत्तिएको पनि बताए। आगामी निर्वाचनमा एमालेले पुनः एकल दुईतिहाइ बहुमत ल्याउने ओलीको भनाई छ। जनताको लहरले पाँच दलीय गठबन्धनका टुक्राहरु ओल्तिर पल्तिर उथलपुथल हुने ओलीले दावी गरे। उनले भने,”जनताको लहर यसरी आएको छ । पाँच दलीय गठबन्धनका टुक्राहरु। चोइटाहरु यताउता ओल्तिर पल्तिर उथलपुथल हुनेछन्।”
ओलीले विकासको पहिलो लहर ल्याउने स्थानीय सरकार नै भएको भन्दै स्थानीय निर्वाचनमा एमालेलाई जिताउन मतदातालाई आग्रह गरे।