व्यापार घाटा बढेको बढ्यै, कति पुग्यो ?

काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि हरेक समान आयातमै निर्भर हुन थालेसँगै मुलुकको व्यापार घाटा निरन्तर बढेर साढे ११ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका आठ महिनामा कुल वस्तु तथा व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले बढेर झन्डै साढे ११ खर्ब रुपैयाँले नाघेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार सो अवधिमा कुल वस्तु व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ दशमलव ६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात÷आयात अनुपात बढेर ११ दशमलव ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ६ प्रतिशत मात्र थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब २१ अर्ब ३६ करोड रुपैयाँबराबरको भएको थियो । यसैगरी, चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका आठ महिनामा कुल वस्तु निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भई १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आवको सुरुको महिना गत साउनदेखि फागुन मसान्तसम्मको बितेका आठ महिनाको अवधिमा देशमा कुल १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात भएको छ । सो रकमको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँको निर्यात भएको छ । यति धेरै रकमको आयात र निर्यातको अन्तरले नै चालू आवको बितेका आठ महिनामै मुलुकको व्यापार घाटा ह्वात्तै बढेर ११ खर्ब ६० अर्ब पुगेको हो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १ सय ४ दशमलव २ प्रतिशत र २९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ दशमलव शून्य प्रतिशतले घटेको छ ।

यसैगरी, वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को आठ महिनामा कुल वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले वृद्धि भई १ हजार ३ सय ८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ दशमलव १ प्रतिशतले बढेको थियो ।

यसरी वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव १ प्रतिशत, ३६ दशमलव ७ प्रतिशत र ७५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुनलगायतका वस्तुको आयात बढेको छ । सोही अवधिमा फलामे छड बनाउने कारखानामा प्रयोग हुने कच्चापदार्थ एमएसविलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात घटेको छ ।

प्रकाशित : बुधबार, चैत ३०, २०७८०६:४८

अन्ततः सेना परिचालन गर्न बाटो खुल्यो !