काठमाडौँ – सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाको लक्ष्य राखेको भए पनि बोर्डर लाइन क्रस गरेर मुद्रास्फीति ७.१४ प्रतिशत पुगेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
अर्थमन्त्री जनार्दन शर्माले सोमबार पत्रकार भेटघाटमा अर्थतन्त्रका सूचक सकारात्मक भएको दाबी गरिरहँदा नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार मूल्यवृद्धि भने अचाक्ली बढेको देखिएको छ।
गत वर्षको तुलनामा मूल्यवृद्धि शतप्रतिशतभन्दा बढी रहेको छ। गत वर्ष फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.०३ प्रतिशत रहेकामा यो वर्ष सोही अवधिमा बढेर ७.१४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष कोभिडका कारण वस्तुको खपत कम थियो। मूल्यवृद्धि नियन्त्रणमा थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर परेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। ‘पेट्रोलियम पदार्थको मूल्य बढ्दा यातायातको भाडा बढ्यो,’ भट्टले भने, ‘ढुवानी भाडा बढ्दा लागत बढेर मूल्य बढ्यो।’
अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ।
गत वर्षको तुलनामा यो वर्षको फागुन महिनामा घिउ तथा तेलको मूल्य २६.३४ प्रतिशत, तरकारीको मूल्य १३.९६ प्रतिशत, दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्य ११.१० प्रतिशत, दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १०.३० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। मूल्यवृद्धि भएपछि राष्ट्र बैंकले कर्जा विस्तार रोक्ने काम गरेको प्रवक्ता भट्टले बताए। ‘अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यवृद्धि भएको छ,’ उनले भने। गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातमा १६.२७, विविध वस्तु तथा सेवामा १६.२७ प्रतिशत र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ।
रेमिट्यान्स आप्रवाहमा सुधार
आयात बढेर विदेशी मुद्रा सञ्चिति गिरावट भइरहेको अवस्थामा फागुनमा रेमिट्यान्स आगमन वृद्धि भएको छ। यसले सरकारलाई केही राहत भएको छ। विदेशी मुद्रा सञ्चिति घटेपछि मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेको अवस्थामा रेमिट्यान्स आगमनमा वृद्धि भएको छ। विगतका वर्षको जस्तो वृद्धिदर नभएपछि अघिल्लो महिनाको तुलनामा घट्दो क्रम रोकिएर सुधार भएको छ। यसले विदेशी मुद्रा सञ्चितिको चापमा केही राहत पुगेको छ।
माघमा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले गिरावट आएको थियो। फागुनमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले मात्र कमी आएको छ। रेमिट्यान्स घट्ने क्रम रोकिएर अघिल्लो महिनाभन्दा बढेको छ। फागुनसम्म विप्रेषण ६ सय ३१ अर्ब १९ करोड रूपैयाँ कायम भएको छ।
अघिल्लो वर्ष सोही अवधिमा ८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ।

