एजेन्सी – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टि२० आई वरियतामा ठूलो छलाङ मार्दै अलराउन्डरतर्फ १० औं स्थानमा उक्लिएका छन् ।
आइसिसीले जारी गरेको नयाँ वरियतामा टि२० आईको अलराउन्डर तर्फ शीर्ष १० मा अटाएका छन् । दीपेन्द्र १ सय ५२ रेटिङ अंकका साथ नेपाली क्रिकेट इतिहास कै उत्कृष्ट वरियतामा परेका हुन् । आइसिसीको कुनैपनि वरियतामा शीर्ष १० मा अट्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन् । यसअघि २०१९ मा टि२० आईको अलराउन्डर तर्फ पूर्व कप्तान पारस खड्का २५ औं स्थान थिए । जुन विश्व वरियतामा नेपालको सर्वाधिक रहँदै आएको थियो ।
दीपेन्द्र ब्याटिङतर्फ नयाँ वरियतामा ३८ औं स्थानमा छन् । कुशल भुर्तेल ३६ औं स्थानमा छन् । आरिफ शेख ९९ औं स्थानमा छन् । टि२० आईको बलिङतर्फ सन्दीप लामिछाने ३८ औं र अभिनाश बोहरा ८६ औं स्थानमा छन् । टि२० आईको अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्षस्थानमा छन् ।
दीपेन्द्रले श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा, बंगलादेशका कप्तान महमुदूल्लाह र अष्ट्रेलियाका मिचेल मार्श जस्ता खेलाडीलाई पछि छाडेका छन् । हसरंगा ११ औं, पपुवा न्युगिनीका चाल्र्स अमिनी १२ औं, मिचेल मार्श १७ औं र महमुदूल्लाह रियाद २० औं स्थानमा छन् ।
नेपाललाई अघिल्लो साता मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि२० आई सिरिजमा अपराजित रहँदै च्याम्पियन बनाउन दीपेन्द्रले कीर्तिमानी शतकसहित सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । नेपालले फाइनलमा पीएनजीलाई ५० रनले हराउँदै च्याम्पियन बनेको थियो । नेपाललाई च्याम्पियन बनाउन दीपेन्द्रले फाइनलमा ३८ बलमा ५ चौकासहित ५४ रनको अविजित इनिङ खेलेका थिए ।
बलिङतर्फ ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए । दीपेन्द्र सिरिजमा ५ खेलमा १ शतक र २ अर्धशतक सहित कुल २ सय ५५ रनका साथ शीर्ष स्थानमा थिए । दीपेन्द्रले बलिङमा भने ५ खेलमा ७ विकेट लिएका थिए । दीपेन्द्रले पहिलो खेलमा पीएनजीसँग ४ रनमै आउट भएका थिए । दोस्रो खेलमा २१ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।
तेस्रो खेलमा पीएनजीविरुद्ध दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्कासहित ६६ रनको इनिङ खेलेका थिए । मलेसियासँग दीपेन्द्रले ५७ बलमा १० चौका र ६ चौकासहित १ सय १० रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए ।
जुन नेपालबाट टि२० आईमा एक खेलमा एक खेलाडीले बनएको सर्वाधिक रन हो । उक्त खेलमा दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए ।

