काठमाडौं । सत्ता गठबन्धनले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।
गठबन्धनले सातबुँदे आधारलाई स्वीकृत गर्दै चुनावी तालमेल गर्नका लागि आ–आफ्नो पार्टी कमिटीलाई निर्देशनसमेत दिइसकेको छ । देशको ६८ भन्दा बढी जिल्लामा जिल्ला समन्वयको बैठक बसेर गठबन्धन गर्ने निर्णय गरिसकेका छन् भने बाँकी रहेका जिल्लामा गठबन्धनको बैठक बस्ने क्रममा छ ।
चुनावी तालमेल गर्न पार्टी केन्द्रको निर्देशनले स्थानीय तहमा भने सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच विवाद चुलिँदो छ । स्थानीय तहमा वडा अध्यक्ष र नगरपालिकामा नगर प्रमुख÷नगर उपप्रमुख र गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षका आकांक्षी धेरै छन् । पार्टीभित्र आकांक्षीको व्यवस्थापन गर्न कठिन भइरहेका बेला गठबन्धनबाट उम्मेदवार टुंगो लगाउन झन् कठिन हुने देखिएको छ ।
केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय भए पनि कतिपय स्थानीय तहमा भने सरकारको नेतृत्व गरिरेको नेपाली कांग्रेसभित्रैबाट विद्रोहको चेतावनी शुरू भएको छ ।कांग्रेसभित्र शेखर कोइराला नेतृत्वको समूहले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न नहुने पक्षमा आवाज उठाउँदै आएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले बिहीबार नेपाल समाचारपत्रसँग कुरा गर्दै पार्टीले गठबन्धन गर्ने निर्णयलाई सातबुँदे आधारले केही सहज बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ, तर कतिपय समस्याको स्थानीय तहमै समाधान खोज्नुपर्छ, केन्द्रबाट हस्तक्षेप गर्दा सकारात्मक सन्देश जाँदैन ।’ उहाँले सत्ता गठबन्धभित्र चुनावी तालमेलको विषयमा सहज रूपमा आधार बने पनि कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताउनुभयो गठबन्धनबीच भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्ता गठबन्धनबीच केन्द्रबाट सिट बाँडफाँट हुनेछ भने बाँकी स्थानीय तहमा भने जिल्ला र प्रदेश कमिटीमार्फत टुंगो लाग्नेछ ।
कांग्रेस र माओवादीको बीचमा गत स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मानेर सिट बाँडफाँट हुनेछ । यता एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई पनि सम्मानजक सिट बाँडफाँट गरिने भएको छ ।
जसपालाई पनि गत निर्वाचनमा जितेको सिटको आधारमा र एमालेले जितेको स्थानीय तहमा भागबण्डा गर्ने गठबन्धनबीच समझदारी बनेको छ ।नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले गठबन्धनले निर्णय गरेपछि स्थानीय तहमा कार्यान्वयन गर्नुको अर्को विकल्प नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘संविधान र लोकतन्त्रको रक्षा गर्नको लागि यो गठबन्धन बनेको हो । रहर गरेर एक्लै उठे हारिन्छ, मिलेर गए जितिन्छ, अहिले गठबन्धनले हार्नु भनेको लोकतन्त्र कमजोर हुनु हो ।’

