काठमाडौँ – बैतडीको दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया रमिता भट्ट(रोशनी)को यहि माघ १३मा विवाह हुँदै थियो। रमिताको विवाहले रमिता मात्र नभई उनको परिवार पनि उत्साहित थिए।
रमिता भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरा लिएर बस्दै आएकी थिइन्। बिहिबार विवाहकाे निम्ताे दिन रमिता साइकलमा बजार निस्किइन्। तर, निम्ताे बाँड्न निस्किएकी रमिता कहिले नफर्किनेगरि बिदा भइन्।
रमितालाई बिहीबार अपरान्ह कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिप्परले ठक्कर दिएको थियो। ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरको पछाडीको चक्कामा परेकी थिइन् रमिता, टाउको किचिएपछि उनको घटनास्थलमै ज्यान गयो।
बताइएअनुसार, रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन्। डेढ बर्ष अगाडी रमिताले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् । साँस्कृतिक परम्परा अनुसार विवाह नभएको हुँदा माघ १३ गते उनको परम्परा अनुसार विवाह हुँदै थियो।
दुवै परिवारका सहमति अनुसार उक्त विवाह हुने कुरा थियो। सोहि विवाहको लागि रमिता आफ्ना नजिकका आफन्त र मित्रहरुलाई निम्तो गर्न बजार निस्किएकी थिइन्, जसक्रममा उनको ज्यान गयो।
दुर्घटनापछि तनावग्रस्त अवस्था
दुर्घटना भएको स्थान भन्दा ५ सय मिटर दुरीमा जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालय पर्छ। दुर्घटना लगतै स्थानीयहरुले टिप्परमाथी ढुङ्गामुढा गरे। जसकारण त्यहाँको अवस्था तनावग्रस्त बन्न पुग्यो। भीड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस समेत प्रहार गरेको थियो।
फरार चालक पक्राउ
रमिताको ज्यान गएलगतै टिपरका चालक फरार भएका थिए। फरार चालक जयराज पनेरुलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ। हाल उनी माथि अनुसन्धान भैरहेको छ।