एजेन्सी – क्याटलान क्लब बार्सिलोना जारी सिजनमा उपाधिविहिन हुने दिशा तर्फ अगाडी बढ्दैछ। च्याम्पियन्स लिग, कोपा डेल रे, स्पेनिस सुपरकप र युरोपा लिग जस्ता जस्ता प्रतियोगिताहरु बार्सिलोनाको हातबाट फुत्किसकेको छ।
अब बार्सिलोनाका लागि जित्न यदि कुनै उपाधि बाँकी छ भने त्यो लालिगा हो। तर लालिगा जित्ने सम्भावना पनि गणितीय हिसाबमा मात्रै सम्भव छ। वास्तावमा बार्सिलोनाले लालिगा जित्न सक्ने स्पष्ट आधार भने देखिँदैन।
बार्सिलोनाले सिजनका ८ खेल खेल्न बाँकी छ। बाँकी रहेका ८ खेल बार्सिलोनाका लागि फाइनल बराबर हुनेछ। लालिगा जित्न ८ खेल मध्ये एक खेल पनि हार्ने छुट बार्सिलोनालाई हुनेछैन।
हालको अवस्थामा लालिगाको शिर्ष स्थानमा रियल म्याड्रिड रहेको छ। बार्सिलोना भन्दा एक खेल बढी खेलेको रियलको ७२ अंक छ। जबकी बार्सिलोनाको ६० अंक छ। रियल बार्सिलोना भन्दा १२ अंकले अगाडी छ।
रियलले सिजनका ७ खेल मात्रै खेल्न बाँकी छ। ती खेल मध्ये धेरै खेल हारेमात्रै बार्सिलोनाको लालिगा जित्ने सम्भावना बढ्नेछ। जुन रियलको अहिलेको फर्ममा सम्भव देखिँदैन। युरोपका ठूला भन्दा ठूला क्लबहरुलाई धुलो चटाइरहेको रियलले कमै खेल हार्ने सम्भावना देखिन्छ।
गणितीय रुपमा हेर्ने हो भने लालिगा जित्न बार्सिलोनाले सिजनका बाँकी सबै खेल जितेरमात्र पुग्ने छैन रियलले कम्तीमा चार खेल हार्नुपर्नेछ।

