नेयमार र एम्बाप्पे दुवैको गोल, पिएसजी च्याम्पियन बन्ने संघारमा !

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार र फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित निकालेको छ । लिग वानको ले क्लासिकमा पिएसजीले घरेलु मैदानमा मार्सेलाई २–१ ले हराएको हो ।

पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा मार्सेका डुजे कालेटा कारले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा भएको थियो । खेलेको १२औं मिनेटमा नेयमारको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले मार्काे भेराट्टीको पासमा गोल गर्न सफल भएका थिए । ३१औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाए । नेयमारको प्रहारलाई भालेनटिन रोनजिएरले हातले छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै पिएसजीलाई पेनाल्टी प्रदान गर्दा एमबाप्पे चुकेनन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै पिएसजीको जितमा निर्णायक बन्यो ।

यो जितले मौरिसियो पोचेटिनोको पिएसजी लिग वान च्याम्पियन बन्ने संघारमा पुगेको छ । लिग वानको ६ राउन्डको खेल बाँकी रहँदा पिएसजीले १५ अंकको स्पष्ट अग्रता बनाइसकेको छ ।

पिएसजीको ३२ खेलबाट ७४ अंक पुगेको छ । समन खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ । अब पिएसजीले एन्जर्सविरुद्ध जित निकाल्न सके ६ खेल बाँकी छँदै लिग वानको च्याम्पियन बन्नेछ ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९०८:४५

फेरी पनि रियलको बेन्जेमाले नै गरे उद्धार , सेभिया पछारियो !