सरोज दाहाल/ललितपुर – सामन्य बोलिचालिमा बाआमाकी आमा अर्थात् हजुरआमा । गाउँघरमा आमोई भनेर सम्बोधन गरिन्थ्यो । हाम्रा पुस्ताका आमोई भनेका करिब असीदेखि सय वर्ष अघिको समय बुझ्नुपर्छ । यही सय वर्षे समयलाई उधिन्न खोजेको औपन्यासिक कृति पाठकमाझ ल्याएका छन साहित्यकार गोपाल सन्जेलले ।
आमोई मूल पात्र भएकाले उपन्यासको नाम नै आमोई राखेर पात्रको न्याय पनि गरेका छन् । “समय- रेखामा आमोई” उपन्यासको पूरा नाम भएता पनि यो उपन्यासको मुखमा आउने नाम आमोई नै हो ।
लेखकले भाषिक रूपमा काँठे आन्चलिकता भर्न निकै मिहिनेत गरेका छन् । उपन्यासको अर्को विशेषता भनेको सय वर्षअघिको ग्रामीण चालचलन, रीतिरिवाज, संस्कृतिलाई जीवन्त रूपमा कथा भर्न सफल छन । ललितपुरको ग्रामीण परिवेशमा उभिएर संसार चियाउन खोज्नु उनको औपन्यासिक कुशलता हो ।
उसै त काठमाडौँको साहित्य कमै लेखिन्छ । झन् काँठको सन्दर्भ त उठान भको पनि छैन । खाँटी काँठे लवजमा कुरो गर्ने चर्चित राजनीतिज्ञ गोकुल बाँस्कोटा हुन् । उनको काँठे लवजलाई हास्यव्यंग्य क्षेत्रका हस्तीहरुले उडाउनुसम्म उडाएर भाषाकै सातो गएको भान हुन्छ ।
आमोई उपन्यासमा सन्जेलले यही काँठे लवजलाई भाषिक रूपमा न्याय दिएका छन् । कथानक रूपमा औपन्यासिक ढाँचामा ढाल्न, उन्न र बुन्न त कति सफल छन् त्यो विज्ञ समीक्षकले बताउलान नै तर यो हामी जस्ता सामान्य पाठकले पढ्दा कतै आफ्नै कथा भेटाउछौँ त कतै आँसुलाई रोक्न नसकेर उपन्यासका पाना भिज्छ ।
काँठका उम्दा लेखक नारायण ढकालले आमोईको पाण्डुलिपी पढेको सन्दर्भ सन्जेलले आफ्नो भूमिकामा उल्लेख गरेका छन् । ढकालले काँठका कुरा लेखेका त छन् तर काँठको लवजमा भने लेखेका छैनन् । सन्जेलले काँठको लवजलाई मूलधारमा ल्याउने कोसिस गरेका त छन् तर कथा र लवजमा तालमेल नमिल्दा नयाँ पुस्ताले नरुचाउने त होइन भन्ने आशङ्का पनि उब्जिन्छ ।
समय, लवज, कथा, परिवेश सबैलाई एकैपटक न्याय दिने अधिकतम प्रयासलाई भने सन्जेललाई साधुवाद दिनै पर्छ । विशेष गरि ललितपुर अनि काठमाडौँ उपत्यका पेरिफेरिका हरेक व्यक्तिले एकपटक पढ्नै पर्ने उपन्यास हो आमोई ! त्यसो त सञ्जेल लामो समय देखि साहित्यिक क्षेत्रमा कलम चलाउँदै दर्जन भन्दा बढि पुस्तक बजारमा ल्याई सकेका छन् ।
लेख रचना र विचार मार्फत आफ्नो धारणा स्पष्ट राख्ने सञ्जेलकाे यो पुस्तक माटो सुहाउँदो आफ्नो पन र मौलिकताले भरिपूर्ण छ । सीधा भन्ने हो भने समाजको यथार्त बुझ्न पनि सबैले यो पुस्तक पढ्नै पर्ने देखिन्छ । एउटा सत्य र जिउँदो इतिहास आमोई भित्र छ । साझा प्रकाशनले प्रकाशन गरेको यो उपन्यास आफैँमा एक कदम अघि सरिसकेको बुझ्न गारो पर्दैन ।